प्रधानमन्त्री प्रचण्डले आजदेखि चीनको औपचारिक भ्रमण गर्नुहुँदै

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जानुभएका प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट सिधै चीन जान लाग्नुभएको हो ।

चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड चीनको औपचारिक भ्रमणमा जान लाग्नु भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डले असोज ६ देखि १३ गतेसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने छ ।

मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार प्रधानमन्त्रीले हाङ्जाओमा चीनका राष्ट्रपति सी चिन फिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँले आफ्ना चिनियाँ समकक्षी ली छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै बेइजिङमा नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्नुहुने छ ।

उहाँले सीसीआईटी, एफएनसीसीआई र बेइजिङस्थित नेपाली दूतावासले संयुक्तरुपमा आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड आज हाङ्जाओमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ । उहाँले नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीको यो भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउनुका साथै सहयोगका क्षेत्रलाई विस्तार गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.