दशैँ शुरु भएसँगै देशभरका विभिन्न शक्तिपीठहरुमा भक्तजनको घुइँचो

काठमाडौँ- नेपालीहरुको महान चाड दशैँ शुरु भएसँगै देशभरका विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको घुइँचो लागेको छ। आज घटस्थापना गरेसँगै बडा दशैँ शुरु भएको हो ।
घटस्थापनामा काभ्रेका शक्तिपीठहरुमा दर्शनार्थीको घुँईचो
बडा दशैं शुभारम्भ भएको दिन आज घटस्थापनामा काभे्र जिल्लाको विभिन्न शक्तिपीठहरुमा दर्शनार्थीको घुँईचो लागेको छ । विशेष गरी पाँचखाल नगरपालिकाको पलाञ्चोक भवगती मन्दिर र बनेपाको चण्डेश्वरीमा रहेको चण्डेश्वरी मन्दिरमा दर्शनार्थीहरु पूजाआजका लागि पुग्ने गरेका हुन् ।
धार्मिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिएको यि शक्तिपीठहरुमा घटस्थापनादेखि दशैंको नवमीको दिनसम्ममा विशेष पूजाआज हुने गर्दछ । बनेपाको एक प्रमुख आकर्षण धार्मिक शक्तिपीठ चण्डेश्वरीमा आज दर्शनार्थीहरुको ठुलो घुँईचो लागेको हो । ‘चण्डाशुर दैत्यलाई माता चण्डेश्वरीले बध गरेको स्थान भएकाले चण्डी पूर्णीमा र दशैंमा ठुलो मेला लाग्ने गर्दछ ।’
यस्तै पलाञ्चोक भगवतीको मन्दिर जिल्लाको साविक साठीघर भगवती गाविसको पलाञ्चोकमा अवस्थित छ । काभ्रेपलाञ्चोकको पाँचखालबाट ७ किलोमिटर पूर्वतर्फ रहेको यो मन्दिर लिच्छवीकालिन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन् । शिल्पकलाको दृष्टिले पलाञ्चोक भगवतीको मूर्ति अद्दितीय मानिन्छ ।
सो मन्दिरमा दशैंको अष्टमीको दिन राष्ट्रपतिबाट विशेष पूजाआजा गर्ने गरिन्छ ।
अनिष्टको खतराले जमरा राख्दैनन् माझी समुदाय
नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना । बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरो माटो र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ । अनिष्टको डरले बागलुङमा रहेको सीमान्तकृत माझी समुदायले भने जमरा नराखी नै दसैँ मनाउँदै आएका छन् ।
देवीलाई जौँको जमरा मन पर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन भए पनि बागलुङ नगरपालिका–१ रामरेखाका खनियाबासका माझी समुदायले भने जमराबिनै दसैँ मनाउँदै आएका छन् । उनीहरूले घरमा जमरा नराखेको वर्षौँ भएको बताएका छन् । जमरा राख्दा अनिष्ट हुने भन्दै पुस्तौँदेखि घटस्थापनामा जमरा नराख्ने गरेको माझी समुदायका स्थानीय देउकुमारी माझीले बताउनुभयो ।

“जमरा राख्दा अनिष्ट भएपछि राख्न छाडिएको हो भन्ने गर्छन् पाका पुरानाहरू”, माझीले भन्नुभयो, “घटस्थापनाको दिन जमरा छर्ने क्रममा कन्याहरूको मृत्यु भएको र त्यसपछि जमरा नराखी दसैँ मनाउन थालिएको भन्ने सुनिन्छ, अहिले दसैँको दिन कालिका मन्दिरमा छरेका जमरा लिएर टीकासँगै लगाइन्छ ।” माझीका अनुसार दसैँको दिन टीका, जमरा त लगाउँछन् तर जमरा भने मागेर वा मन्दिरमा पुगेर ल्याउने चलन छ । घरमा जमारा राखेपछि अनिष्ट हुने विश्वासले यहाँका १७ माझी परिवारले घरमा जमरा नराख्ने गरेको पाइन्छ । यसलाई माझी समुदायले आफ्नो परम्पराको रूपमा लिँदै आएका छन् ।
तीन पुस्ताअघिसम्म जमरा राखे पनि त्यसपछि ठूलै अनिष्ट घटना भएपछि जमरा राख्न छाडिएको सोमबहादुर माझीले बताउनुभयो । खनियाबास र मालढुङ्गामा बस्ने माझीहरूले घरमा जमरा नराख्ने चलन अहिले परम्पराका रुपमा स्थापित भइसकेको छ ।
“जुन वर्ष जमरा राख्यो, त्यो वर्ष घरकी कन्याको मृत्यु भएको भन्ने छ, जमरा राख्दा घरकी छोरीको मृत्यु हुने गरेका कारण जमरा नराख्ने भनेर सल्लाह गरेर राख्न छाडिएको सुनिन्छ”, सोमबहादुरले भन्नुभयो । दसैँ मनाउने भए पनि जमरा नराख्ने माझी समुदायको प्रचलनलाई अनौठो प्रचलनका रुपमा अन्य समुदायले लिँदै आएका छन् ।
माझीहरूले दसैँमा जमरा लगाउन हुने भए पनि जमरा राख्न नहुने मान्यता स्थापित भइसकेको छ । पुर्खौँदेखि कालीगण्डकी नदीमा माछा मारेर, डुङ्गा खियाएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ–१ रामरेखाका माझी समुदायले अहिले भने आफ्नो पेसा सङ्कटमा परेको बताउँछन् ।
दुई वर्षदेखि नदीबाट बालुवा निकाल्न नपाएको बताउँदै रोजीरोटीका लागिसमेत समस्या भएको दुःखेसो उनीहरूको छ । न्यून आयस्तर भएका सीमान्तकृत माझी समुदाय आश्रित भएको कालीगण्डकी नदीमा बालुवा निकाल्न नपाएपछि उनीहरू अन्य समुदायको घरमा पुगेर ज्याला मजदुरी गर्न बाध्य भएका छन् ।
सर्वसाधारणको दर्शनका लागि त्रिशूली देवी मन्दिर खुला
बडादसैँको अवसर पारेर महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खोलिएको छ ।
प्रत्येक वर्ष असोज र चैतको दसैँका बेला गरी दुईपटक मात्रै खोलिने गरेको यस मन्दिर आज बडादसैँ सुरु भएसँगै त्रिशूली देवीको पूजाआजा र सर्वसाधारणको दर्शनका लागि खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताउनुभयो ।
वर्षमा मात्र दुईपटक खुला गरिने यस मन्दिरमा बिहान ४ः०० बजेदेखि नै पूजाअर्चना गर्ने दर्शनार्थीको घुइँचो लागेको छ । त्रिशूल धारण गरेकी त्रिशूलीदेवी भवानीको मन्दिर वर्षभरि खोलिदैन भने उनको प्रतिमा वर्षभरि कसैले हेर्न वा छुन पाउँदैनन् । असोज र चैतको दसैँमा पुजारीले विशेष पूजाआजा गर्ने, सर्वसाधारणले माताको दर्शन गर्न पाउने र भेटीसमेत चढाउन पाउने व्यवस्था रहेको पुजारी पाठकले बताउनुभयो ।
जलेश्वरनाथ महादेव मन्दिरको त्रिशूली देवीको महोत्तरी, धनुषा, सिरहा र सर्लाहीलगायत भारतको सीतामढी तथा मधुवनीमा निकै प्रख्यात रहेको छ । यी जिल्ला तथा भारतका विभिन्न ठाउँबाट त्रिशूलीदेवी मन्दिरमा दर्शनका लागि हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् ।
दसैँमा त्रिशूली देवीको पूजा र दर्शन गर्न नपाएका भक्तजन पुनः वर्षभरि माताको मन्दिर खुल्ने प्रतीक्षा गर्नुपर्ने हुन्छ । त्यसैले दसँैभरि त्रिशूलीदेवी मन्दिरमा ठूलो भीड लाग्ने तथा लाखौँको भेटी र प्रसाद चढाइने गरिन्छ । त्रिशुली मन्दिरमा भाकल गरेको कुरा पूरा हुने जनविश्वास रहेको र वर्षमा दुईपटक मात्रै माताको दर्शन हुने हुँदा सर्वसाधारणको आस्थाको केन्द्र बनेको छ ।






प्रतिक्रिया राख्नुहोस्