बजार व्यवस्थापनमा सरकारको नियन्त्रण आवश्यक
काठमाडौं- बजार व्यवस्थापनका लागि सरकारको नियन्त्रण भएन भने आर्थिक क्षेत्रमा ठूलो अव्यवस्था सिर्जना हुने बताइएको छ । काठमाडौँ महानगरको सहयोगमा सञ्चार केन्द्र नेपालले आयोजना गरेको राजधानीको बजार अनुगमन र सुरक्षा व्यवस्था विषयको कार्यक्रममा वक्ताले बजार सबैको पहुँचमा राख्न र निर्यात घटाउँदै जान सरकारको बलियो उपस्थिति चाहिनेमा जोड दिए ।
कामपाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले सरकारका प्रतिनिधिले जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने काम गर्नुपर्ने बताउनुभयो । महानगरका सहसचिव राजेश्वर ज्ञवालीले अनुगमन गर्ने जिम्मेवारी गृह प्रशासन, वाणिज्य तथा आपूर्ति विभाग, स्थानीय तह आदि विभिन्न निकायमा भएकाले प्रभावकारी हुन नसकेको बताउँदै स्थानीय तहको नेतृत्वमा स्रोतसाधन र जनशक्ति परिचालन गर्न सकिने कानूनी व्यवस्थामा जोड दिनुभयो ।
बजार अनुगमनका विषयमा काठमाडौँ उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीको धारणा एउटै थियो । कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअ जनकराज दाहाल, नारायण भट्ट र हुमकला पाण्डेले बजार अनुगमनको प्रणाली एकीकृत हुनुपर्ने बताउँदै स्थानीय तहलाई उपभोक्ता हित संरक्षण र एकीकृत बजार अनुगमनका लागि कानून बनाउन सुझाव दिनुभयो ।-
प्रतिक्रिया राख्नुहोस्