काठमाडौँको माइतीघर मण्डलादेखि बानेश्वरसम्म सभा, जुलुस गर्न रोक

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र तोकेको छ ।

यो क्षेत्रमा आजदेखि नै लागुहुने गरी  एक महिनासम्मका लागि निषेधित क्षेत्र तोकिएको हो ।

मंसिर ७ गते बिहीबार नेकपा एमाले निकट युवा संघ नेपाल र दुर्गा प्रसाईं समुहले एकै दिन सो क्षेत्रमा कार्यक्रम गर्ने चर्चापछि   जिल्ला प्रशासन कार्यालयले माइतीघर मण्डलादेखि बानेश्वरसम्म को सडक क्षेत्रलाई निषेधित क्षेत्र तोकेको हो ।

एक वा भन्दा बढी समुहले एकै स्थानमा जुलुस तथा सभा आयोजना गर्ने तयारी गरेपछि शान्ति सुरक्षाका लागि सो ठाउँमा जुलुस प्रदर्शन, धर्ना, घेराउ, अनशन जस्ता कार्यक्रम गर्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्थानीय प्रशासन ऐन-२०२८ को दफा ६ को उपदफा ३ क बमोजिमको आदेश जारी गर्दै निषेधित क्षेत्र तोकिएको स्थानमा आन्दोलन तथा विरोधका कार्यक्रम गर्न रोक लगाएको जनाएको छ ।

निषेधित क्षेत्रमा आजदेखि ३० दिनसम्मका लागि ५ जना भन्दा बढी व्यक्ति भेला हुन निषेध गरिएको छ ।

पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्बोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल बिजुलीबजार पुल हुदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको आदेशमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंसिर ७ गते माइतीघर मण्डलामा कुनैपनि कार्यक्रमको लागि अनुमति नदिइएको तर अन्य क्षेत्र तोकी आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाइने जिल्ला प्रशासन कार्यालयका प्रवक्ता रबिन्द्र प्रसाद आचार्यले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.