विपिनका बाआमा भन्नुहुन्छ- समाचार हेर्दै रात बित्छ

कञ्चनपुर- इजरायल र आतङ्कवादी समूह हमासबीच युद्धविरामको घोषणा भएपछि उक्त समूहको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको सकुशल रिहाइको आशामा उहाँका बाआमाको दैनिकी समाचार हेरेरै बितिरहेको छ ।

हमासले पटक-पटक विभिन्न नागरिकलाई रिहा गरे पनि विपिनको कुनै समाचार नआउँदा उहाँका बाआमा साह्रै चिन्तित हुनुहुन्छ । गृहजिल्ला आइपुग्नुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर विपिनको शीघ्र रिहाइका लागि उहाँहरूले आग्रह गर्नुभएको छ । “कतिबेला छोरा सम्पर्कमा आउला भनेर समाचार हेर्दै बसेकी हुन्छु”, आमा पद्माले भन्नुभयो, “समाचार हेर्दै दिन बित्छ ।”

विपिन गत असोज २० गतेदेखि सम्पर्कविहीन छन् । उक्त दिन हमासले इजरायलको पश्चिमी भागका किबुचमा अन्धाधुन्ध आक्रमण गरेको थियो । उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

नेपाल सरकारले विपिनको रिहाइका लागि विभिन्न माध्यमबाट कूटनीतिक प्रयास गरिरहेको बताएको छ । विपिनका बुवा महानन्दले सरकारी प्रयास सशक्त नभएको गुनासो गर्नुभएको छ । उहाँले भन्नुभयो, “सरकारले जोडतोडले पहल गरिदिएको भए मेरो छोरा पनि हिजोअस्ति नै छुट्थ्यो कि जस्तो लाग्छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.