नेपालमा लगानी गर्न यूएईका लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न संयुक्त अरब इमिरेट्स (युएई)का लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन (कोप-२८) मा सहभागी हुने क्रममा बिहीबार साँझ दुबईमा नेपाल–दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै उहाँले नेपालमा पुँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गर्नुभयो ।
युएईको उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्तरुपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिनुभएको थियो । युएईका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएइ र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकारी एवं साझेदारी अपरिहार्य भएको धारणा राख्नुभयो ।

दुबई उद्योग वाणिज्य सङ्घका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य सङ्घ र दुबई उद्योग वाणिज्य सङ्घबीच सहकार्य एवं सहयोग अभिवृद्धिका प्रशस्त क्षेत्र रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपाल र युएईबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा युएई र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा प्रतिष्ठित उद्यमी व्यवसायीको उपस्थिति थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.