नक्कली भुटानी शरणार्थी प्रकरण: अब कसरी अगाडि बढ्ला खाँणको मुद्दा ?
काठमाडौँ- उच्च अदालत पाटनले पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बारेमा लिएको निर्णय यतिवेला सर्वत्र चासो र चर्चाको विषय बनेको छ ।
दुई जना न्यायाधीशको फरक फरक आदेश आएपछि राय बाझिएको भन्दै उदालतले तेस्रो न्यायाधीशसमक्ष पठाउने निर्णय सुनाएको थियो ।
अदालतको यो निर्णयले पुर्पक्षका लागि खाँण फेरि थुनामै रहनेछन । अहिले नछुटे पनि अदालती प्रकृया अब कसरी अघि बढ्छ भन्ने विषयमा स्वभाविक चासो बढेको छ ।
यसै सम्बन्धमा जिज्ञासा राख्दा नेपालटिभीअनलाइनसँग कुरा गर्दै बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञावलीले खाँणको पुनरावेदन सम्बन्धीको मुद्दा अब तेश्रो इजालासबाट आदेश हुने र उक्त इजलासमा अहिलेको फैसलामा रहेका दुबै जना न्यायाधीश नरहने जानकारी दिनुभयो ।
“अब उहाँको मुद्दामाथि तेस्रो न्यायाधीको इजलासमा सुनुवाइ हुन्छ । मुख्य न्यायधीशले अर्को इजलास तोक्नु हुनेछ । जसमा अहिले आदेश गर्ने न्यायाधीशहरुको रहनुहुन्न। यो निर्णयबाट मुद्दा पुन: पुनरावेदनको शुरुवाति अवस्थमा पुगेको छ”-ज्ञवालीले भन्नुभयो ।
ज्ञवालीका अनुसार अब अदालतका मुख्य न्यायधीशले उक्त मुद्दाका लागि तेस्रो न्यायाधीशको बेञ्च तोक्नु हुनेछ । उक्त बेञ्चमा तीन जनासम्म न्यायधीश रहन सक्ने अभ्यास छ । त्यसरी गठन हुने बेञ्चमा खाँणले दिएको पुनरावेदनको निवेदन माथि बहस हुनेछ । पाटन उच्च अदालतमा १५ वटा बेन्च रहेका छन् ।
मुद्दाका पक्ष विपक्षीको बहस सुन्ने, प्रमाण झिकाउने र प्रमाणको विश्लेषणदेखि सबै कार्य हुनेछन् । यसअघिको संयुक्त इजालासमा भएका सम्पूर्ण कार्यहरु नयाँ बेञ्चमा पनि हुनेछन् । त्यसपछि मात्र यस मुद्दामा आदेश आउने बरिष्ठ अधिबक्ता ज्ञवालीको भनाइ छ ।
नक्कली भुटानी शरणार्थी सम्बन्धमा उच्च अदालत पाटनले आज प्रतिवादीहरुले दर्ता गरेको पुनरावेदन निवेदन उपर फैसला सुनाएको थियो ।
पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी, पूर्व गृह सचिव टेकनारायण पाण्डे लगायतका ९ जना प्रतिवादीका सम्बन्धमा काठमाडौँ जिल्ला अदालतको आदेश सदर गरेको छ ।
केही प्रतिवादीहरुलाई धरौटी र साधारण तारेखमा रिहाको आदेश गरेको छ तर पूर्व गृहमन्त्रीसमेत रहनु भएका नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणका सम्बन्धमा भने फरक-फरक आदेश आएको छ ।
मुद्दामा दुई जना न्याधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले आज आदेश सुनाएको हो ।
गृहमन्त्री खाँडका सम्बन्धमा भने दुवै न्यायाधीशबीच समान धारणा बनेन । न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँ धरौटीमा छाड्नुपर्ने राय दिनुभयो भने अर्का न्यायाधीश खरेलले खाँणलाई अहिले निर्दोष भन्न नसकिने भएकाले धरौटीमा छाड्ने रायमा सहमति जनाउनु भएन ।
यसरी एउटै मुद्दामा आदेश गर्दा संयुक्त इजलासमा रहेका न्यायाधीश बीच मत फरक परेको अवस्थालाई राय बाझिएको भनिन्छ। यस्तो अवस्थामा अर्को बेञ्चबाटट मुद्दाको सुनुवाइ हुने अदालती प्रकिया हो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको मुद्दाका १८ जना प्रतिवबादी मध्ये काठमाडौँ जिल्ला अदालतले गत असार १ गते १६ जनालाई थुनामा राख्ने आदेश दिएको थियो ।
उक्त आदेश उपर प्रतिवादीहरु उच्च अदालत पाटनमा पुनरावेदनका लागि गएका थिए । सोही पुनरावेदनमाथि उच्च अदालतले आज आदेश गरेको हो ।






प्रतिक्रिया राख्नुहोस्