पहिरोका कारण पोखरा बागलुङ सडक खण्ड आज पनि अबरुद्ध

पर्वत- अविरल बर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ सडक खण्डस्थित विभिन्न स्थानमा पहिरो जाँदा आवत जावत  अबरुद्ध भएको छ ।

सडक खण्डको कुश्मा नगरपालिका- ८ स्थित चुवाको भीर, कुश्मा नगरपालिका ४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका १ अन्तर्गत पर्ने सहश्रधारामा सडक अबरुद्ध भएको हो ।

आइतबार पनि पहिरोले अबरुद्ध सडक साँझ मात्रै एक तर्फी रुपमा सञ्चालन भएको थियो ।

आज सहश्रधारामा सडक माथिबाट भेल सहितको पहिरो आएपछि सडकको ५० मिटर भन्दा बढी भाग पुरेको छ । सडक अबरुद्ध भएपछि विहानैदेखि सवारी साधन र यात्रुहरु सडकमा नै अलपत्र परेका छन् ।

पहिरो खसिरहेका कारण सर्वसाधारण हिँडेर समेत वारपार गर्न पाएका छैनन् ।

सडक सञ्चालनका लागि निर्माणाधिन मध्यपहाडी लोकमार्ग आयोजनामा रहेका मेशिनहरु प्रयोग गर्ने तयारी गरेपनि पहिरो खसिरहेका कारण तत्काल काम शुरु गर्न नसकिएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख कृष्णबहादुर खड्काले बताउनुभयो ।

चुवा, दोविल्ला लगायतका स्थानमा भने सडक खुलाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएका कारण सडकमा सवारीको चाप नभएपनि खाद्यन्न ढुवानी सँगै विरामी र एम्बुलेन्सहरुलाई समस्या भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.