बूढीगण्डकी आयोजना निर्माणको जिम्मा विदेशीलाई दिन ओलीको प्रस्ताव

गोरखा- नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा विदेशी कम्पनीलाई लाई दिन उपयुक्त हुने प्रस्ताव गर्नु भएको छ ।  पार्टीले सञ्चालन गरेको ‘संवृद्धिका लागि संकल्पयात्रा’ अन्तर्गत गोरखा आइपुगेका अध्यक्ष ओलीले शनिबार बिहान गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाललाई हित हुने गरी विदेशीलाई निर्माणको जिम्मा दिन आग्रह गर्नु भएको हो । आयोजना आफैले बनाउँछौँ भन्नु सरकारको हाँस्यास्पद गफ मात्र भएको ओलीको भनाई छ ।

‘पहिलोपल्ट म सरकारको नेतृत्व गर्दा बूढीगण्डकी आयोजनालाई अघि बढाउन खोजेँ । सरकार ढालियो । बूढीगण्डकीलाई खारेज गरियो । फेरि दोस्रोपल्ट मैले सरकारको नेतृत्व गर्दा फेरि त्यसलाई अघि बढाउन खोजेँ । फेरि सरकार ढालियो । फेरि आयोजना खारेज गरियो । गर्न खोजेको के हो, त्यो थाहा छैन’, , ‘म के भन्न चाहन्छु भने नेपालको परियोजना कुन देशले बनाउँदा नेपाललाई फाइदा हुन्छ, त्यसै देशलाई दिनुपर्छ । तर एउटा देशलाई दिनै नहुने, अर्को देशलाई दिनै पर्ने । जिएमआरले अपर कर्णाली जिम्मा लिएर नबाएको पन्द्रबर्ष भयो, फेरि पनि अर्को आयोजना उसैलाई दिनुपर्ने, के छ यसमा ? ओलीको प्रश्न थियो ।

सरकारले बूढीगण्डकी आयोजना आफै बनाउने ‘गफ दिने’ गरेको ओलीको भनाई थियो । ‘कहिलेकहीँ सरकारमा रहनेहरुले बढि नै गफ दिनेगर्छन् । एकचोटी मैले नै शेरबहादुरजीलाई बूढीगण्डकी के गर्नुहुछ भनेर सोधेँ । उहाँले हामी आफै बनाउँछौँ भन्नुभयो । हामीसंग पैसा छ र ? भनेर सोध्दा उहाँले मज्जाले पैसा छ भन्नुभयो । कर्मचारीलाई तनखा खुवाउन आन्तरिक ऋण उठाउनु हुन्छ, बूढीगण्डकी आफै बनाउछु भन्नुहुन्छ । प्रधानमन्त्रीको धाक । अहिलेको अवस्थामा अझै केही बर्षसम्म नेपाल आफैले बूढीगण्डकी बनाउन कुनै सम्भव देखिँदैन । आफैले बनाउन सक्ने ४८० मेगावाटको फुकोट कर्णाली आयोजना अर्कालाई दिने, यस्तो ठूलो आयोजना, जुन हामी बनाउन सक्दैनौँ, त्योचाहिँ हामी नै बनाउँछौँ भनेर राख्ने, यो ठिक छैन ।’ राज्य कोषबाट ७६ अर्ब मुआव्जा दिइसकेकाले बूढीगण्डकी जसरी पनि बनाउनै पर्ने ओलीले बताउनु भयो ।

‘हिँजो हाम्रा पुर्खाहरुले लडेर देश बचाए, लडेर देश बनाए । आज हामी अडिए पुग्छ, तर अडिनै नसक्ने खालको कमजोरी देखाउनु नेपाल र नेपालीहरुका लागि लज्जाको विषय हो’, शनिबार बिहान गोरखामा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘लिपुलेक, लिम्पियाधुरा, कालापानीको प्रश्न हाम्रा उच्चास्तरीय भेटघाट र संवादहरुमा उठ्दैन । त्यो भन्दा गए गुज्रिएको अबस्था के हुन्छ ? त्यो भन्दा देशप्रतिको बेइमानी के हुन्छ ? हामीले संयुक्त रुपमा बनाएको रिपोर्ट कार्यान्वयन गरौँ कि फाल्दिउँ, के गरौँ भनेर सोध्न पनि नसक्ने ? रिसाउँछन् जस्तो लागेको होला, त्यो पनि रिसाउँछन् कि भन्ने अनुमान होला । हामी राष्ट्रियताका मामलामा यस्तो कमजोर हुनुहुदैन ।’

चीनले दिएको सहयोग लिन पनि नेपाल डराउने गरेको अध्यक्ष ओलीको आरोप छ । ‘चीनले लुम्बिनीमा, पोखरामा एयरपोर्ट बनायो, चल्न दियाछैनन् । दियाछैनन् नि के भनौँ, चलाएका छैनन् । चलाउन पाउँदैनौ भनेर भित्र भनेका होलान्, बाहिर त भनेका छैनन् । एयरपोर्ट चलाउनु पर्‍यो नि । तर भारत रिसाउँछ होला भन्ने अनुमान गरेर सरकार एयरपोर्ट चलाउन डराउँछ’, ओलीले भने, ‘चीनलाई मात्र पर्यटक पठाइदेउ भन्ने हो भने दशौँ लाख पर्यटक लिएर आउँछन्, आफ्नै प्लेनमा । लुम्बिनी चल्यो भने वुद्धिस्टहरुको ओइरो लाग्छ ।’ नेपालको उत्पादन चीन पठाइदिए जतिपनि किनिदिन्छौँ भन्दा पठाउन पनि डराएको, चीनमा उत्पादन गरेको बस्तु पठाइदिन्छौँ भन्दा किन्न पनि डराएको आरोप ओलीको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.