इजरायल-प्यालेष्टाइन तनाव: युद्धबिरामको अझै छैन सम्भावना
गाजामा इजरायलले गरिरहेको भीषण बमबारीका कारण युद्धविरामको सम्भावनालाई साँघुरो बनाएको कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले बताउनु भएको छ ।
दोहा फोरममा बोल्दै प्रधानमन्त्री थानीले सो कुरा बताउनु भएको हो ।
सम्बोधनकै क्रममा थानीले आफूले युद्धविरामका लागि युद्धरत दुबै पक्षलाई दबाब भने दिइरहेको बताउनु भयो ।
यही नोभेम्बरमा एक साता लामो युद्धविराम सम्झौता गराउन कतारले मुख्य भूमिका निर्वाह गरेको थियो ।
सो अवधिमा हमासले बन्धक बनाएका २ सय ४० जना इजरायली मध्ये १ सय १० जना रिहा भएका थिए ।
इजरायलले पनि जेलमा रहेका २ सय ४० जना प्यालेस्टायनी कैदीलाई रिहा गरेको थियो । युद्धविरामले राहतको महसुस गरेका गाजाका सर्वसाधारण युद्ध शुरु भएसँगै पुन आतंकित भएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने हमाससँगको युद्ध सफलतापूर्वक अगाडि बढिरहेको भन्दै उत्साहित देखिनु भएको छ ।
पछिल्ला दिनमा भएका सैन्य कारवाहीका क्रममा ठूलो संख्यामा हमासका आतंकारीहरुले आत्मसमर्पण गरेको र इजरायली सेनालाई हतियार बुझाएको नेतान्याहुको भनाइ छ । हमास अन्त्यको शुरुवात भएको प्रधानमन्त्री नेतान्याहुको भनाइ छ ।
गाजामा बढ्दै गएको मानवीय संकटका विषयमा अन्तर्राष्ट्रिय रुपमा आलोचना भइरहेको छ ।
इजरायले गरेको बमबारीका कारण हालसम्म गाजामा १८ हजारभन्दा बढी प्यालेस्टायनीको मृत्यु भएको छ ।।
प्रतिक्रिया राख्नुहोस्