गुणस्तर वृद्धि गरी नेपाललाई शैक्षिक ‘हब’ बनाउन सकिन्छ : मन्त्री गुरुङ

काठमाडौ- कानुन, न्याय तथा संसदयि मामिलामन्त्री धनराज गुरुङले उच्च शिक्षाका लागि नेपाली युवा विदेशिने क्रम रोकेर नेपालमा विदेश विद्यार्थी आउन सक्ने गरी नेपाललाई शैक्षिक ‘हब’ बनाउनुपर्ने बताउनुभएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उहाँले गुणस्तरीय शिक्षामा सबैले ध्यान केन्द्रित गरेर शिक्षा र रोजगारका लागि नेपाली विद्यार्थी मुलुक बाहिर जाने अवस्थाको अन्त्य गराउन आवश्यक भएकामा जोड दिनुभएको हो ।

मन्त्री गुरुङले लामो छलफल र सकसपूर्ण अवस्थाबीच विद्यालय शिक्षा विधेयक, २०८० लाई संसदीय समितिसमक्ष लगिएकाले यसलाई सरोकार भएका पक्षसँगको संवाद र छलफलका आधारमा पारित गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै गुणस्तरीय शिक्षामा निजी क्षेत्रको भूमिकालाई अन्देखा गर्न नहुने उल्लेख गर्नुभयो ।

“हुन त कतिपय सामुदायिक विद्यालय पनि राम्रा छन् तर अभिभावकहरू मजदुरी गरेर भए पनि छोराछोरीलाई राम्रा निजी विद्यालय पढाउनुपर्छ भन्ने सोच विकास भएको देखिन्छ”, मन्त्री गुरुङले भन्नुभयो, “सबै विद्यालय सञ्चालक र शिक्षकले आफ्नो विद्यालयलाई कसरी राम्रो बनाउने र विद्यार्थीलाई सक्षम बनाउने भन्नेमा ध्यान दिने हो भने नेपालमा गुणस्तरीय शिक्षा सम्भव छ भन्ने भावना जागृत हुनेछ ।”

प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले कक्षाकोठाको गुणस्तर सुधार, शिक्षा क्षेत्रमा नेतृत्व विकास र नीतिगत परिवर्तनका मुद्दामा सबै पक्षबीच छलफल गर्न सम्मेलनको आयोजना गरिएको जानकारी दिनुभयो । सम्मेलनका संयोजक मेदिनी लामिछानेले कक्षाकोठाको सुधार नेतृत्वबाटै हुनुपर्छ भन्ने मान्यताका साथ १७ वटा सत्रहरूमा सहभागीबीच छलफल हुने जानकारी दिनुभयो ।

सम्मेलनमा निजी र सामुदायिक विद्यालयका सञ्चालक, प्राचार्य, पिन्सिपल र शिक्षक गरी करिब चार सयको सहभागिता रहेको छ । सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सजीकरण तथा काठमाडौँ विश्वविद्यालय र बिट्रिश काउन्सिलको सहयोग रहेको छ । सम्मेलनको मुख्य विषय नेतृत्व विकास र शैक्षिक गुणस्तर अभिवृद्धि रहेको प्याब्सनका महासचिव आरबी कटवालले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.