काँग्रेस बैठक : राष्ट्रिय सभामा उम्मेदवार चयन गर्ने जिम्मा सभापति देउवालाई

काँग्रेस केन्द्रीय कार्य समितिको बैठक पुष १२ गते बस्ने

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो।

उहाँले राष्ट्रिय सभाको निर्वाचनमा पार्टीको तर्फबाट भाग लिनका लागि दल दर्ता गर्ने निर्णय भएको र उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति देउवालाई दिइएको बताउनुभएको हो।

निर्वाचन र दल दर्ताको व्यवस्थापन गर्नका लागि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई तोक्ने निर्णय भएको छ।

त्यस्तै बैठकले केन्द्रीय कार्यसमितिको बैठक पुस १२ गते बस्ने र विधानका केही व्यवस्था महासमितिमा सिफारिस गर्ने निर्णय भएको बताउनुभयो। सो केन्द्रीय समितिको बैठकमा नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई पनि सहभागी गराउने निर्णय भएको सहमहामन्त्री परियारले जानकारी दिनुभयो ।

भूकम्पपीडितलाई सरकारबाट घोषणा गरिएको ५० हजार रुपियाँ दिन अझै नसकेको बारे सरकारको ध्यानार्षण गराउने र अस्थायी टहरा निर्माणका लागि सरकारलाई दबाब दिने निर्णय पनि नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.