घुम्ती शिविरमार्फत सबै सेवा घरदैलोमा

भोजपुर- भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाले ‘बृहत् एकीकृत घुम्ती शिविर’ सञ्चालन गरेर नागरिकको घरदैलोमा सेवा प्रदान गरेको छ । भौगोलिक विकटताका कारण स्थानीयले भोगेका समस्या समाधान गर्दै पालिकाले शिविरमार्फत घरदैलोमा सेवा प्रदान गरेको हो ।

‘घरदैलोमा स्थानीय सरकार’ अभियानअन्तर्गत पाँचवटा वडामा शिविर सञ्चालन गरेर सेवा प्रदान गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिनुभयो । घुम्ती शिविरमार्फत वडा तथा पालिकास्तरीय योजना सम्झौता, मेडिकल अधिकृतसहितको स्वास्थ्य सेवा, कृषि तथा पशुपक्षीसम्बन्धी, पञ्जीकरणअन्तर्गत घटना दर्तासम्बन्धी र अभिमुखीकरण, अपाङ्गता र ज्येष्ठ नागरिक परिचयपत्र वितरण तथा बैङ्कसम्बन्धी सेवासमेत प्रदान गरिएको उहाँले बताउनुभयो ।

“हाम्रो गाउँपालिकाका कतिपय भूगोल अति नै विकट छन्”, अधिकारीले भन्नुभयो, “ विकटताका कारण नागरिकलाई सेवा लिन आउन निकै सास्ती हुने गरेको छ । स्थानीयलाई एउटा सानो काम गर्न आउँदा दुई दिनसम्म लाग्ने अवस्था छ । नागरिकको समस्यालाई ध्यानमा राख्दै पालिकाका सबै सेवा वडास्तरबाट प्रदान गरेका हौँ ।” उहाँका अनुसार वडा नं १ र २ को कुलुङ, वडा नं ४ को खाटम्मा, वडा नं ६ को दोभाने र वडा नं ५ को रातमाटेबाट घुम्ती सेवा प्रदान गरिएको छ ।

गाउँपालिकाको सेवा शिविरमार्फत वडामा लिन पाउँदा समय र पैसाको बचत भएको स्थानीयवासी काजी तामाङले बताउनुभयो । “हाम्रो ठाउँबाट गाउँपालिकाको केन्द्र पुग्न धेरै समय लाग्छ”, उहाँले भन्नुभयो, “जाँदा/आउँदा, खादा र बस्दा चारदेखि पाँच हजार खर्च हुन्छ । पालिकाले घर पायकमा सेवा लिने वातावरण दिएको छ । शिविरमार्फत सेवा दिँदा हामीलाई राहत मिलेको छ ।”

शिविरमार्फत वडामा सेवा पाउँदा खर्च र समयको बचत हुनाका साथै सहज भएको सालेवाका स्थानीयवासी लेखनाथ गिरीले बताउनुभयो । शिविरले सानो कामको लागि दुईदेखि तीन दिनसम्म लगाएर पालिकासम्म जानुपर्ने बाध्यताको अन्त्य गरिदिएको उहाँको भनाइ थियो । “सानो कामका लागि कष्टकर यात्रा गरेर पालिका पुग्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “घरमा नै अपाङ्गता परिचयपत्र पाएँ । गाउँपालिकाको कामप्रति खुसी छौँ । यहाँबाट पालिकाको केन्द्र पुगेर आउन तीन दिनसम्म लाग्छ ।”

शिविरमार्फत वडा नं १ मा दश, २ मा सात, ४ मा ११, ५ मा आठ र ६ मा १२ गरी ४८ योजनाको सम्झौतासँगै खाता सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । कृषि सेवाअन्तर्गत चार सय ६० केजी तोरीको बीउ र ९० केजी सूर्यमुखीको बीउ वितरण गरिएको गाउँपालिको कृषि शाखाले जनाएको छ ।

पशु सेवाअन्तर्गत दुई सय ४८ कृषकलाई पशुपक्षीसम्बन्धी उपचार र औषधि प्रदान गरिएको हो । महिला विकासअन्तर्गत ५९ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र र नौजनालाई अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको गाउँपालिका उपाध्यक्ष अस्मिता राईले जानकारी दिनुभयो । स्वास्थ्य सेवाअन्तर्गत वडा नं ४, ५ र ६ मा गरी एक सय ३९ लाई स्वास्थ्य जाँच, परामर्श र औषधि उपचार प्रदान गरिएको उहाँको भनाइ थियो ।

“नागरिकलाई एकै साथ गाउँपालिकाका सबै शाखाले प्रदान गर्ने सेवा प्रदान गरेका छौँ”, उपाध्यक्ष राईले भन्नुभयो, “शिविर सञ्चालनले स्थानीयलाई सहजता थपिएको छ ।” वडा नं ४, ५ र ६ भौगोलिक रुपमा निकै विकट मानिने र यहाँका नागरिकलाई सेवा लिन पालिकाको केन्द्र चौकी डाँडासम्म पुग्न दुई/तीन दिन लाग्ने भएकाले स्थानीयस्तरबाट सेवा प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

सेवा लिनका लागि धेरै खर्च र बढी समय लगाएर गाउँपालिकाको केन्द्रसम्म आउनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले वडास्तरमा बृहत् एकीकृत घुम्ती शिविर सञ्चालन गरी नागरिकलाई सेवा दिइएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताउनुभयो । स्थानीयलाई सहज सेवा प्रवाहका लागि गाउँकार्यपालिकाको निर्णयअनुसार एकीकृत सेवालाई वडास्तरसम्म विस्तार गरिएको उहाँको भनाइ थियो ।

“स्थानीय सरकारले जनताको सहजताका लागि काम अभियान थालेको हो । यहाँका अधिकांश वडा धेरै विकट छन् । सेवा लिन आउँदा नागरिकले धेरै सास्ती भोग्नुपर्ने बाध्यता थियो”, अध्यक्ष कुलुङले भन्नुभयो, “जनताका समस्यालाई ध्यानमा राख्दै ‘जनताको वरिपरि सेवा’ भन्ने उद्देश्यका साथ शिविरमार्फत सेवा दिइरहेका छौँ ।” उहाँका अनुसार एक सय दिने रोजगारी अभियानअन्तर्गत वडामै रोजगारीको पनि सम्झौता गरिएको छ ।

“जनताका पक्षमा काम गरेर नागरिक र स्थानीय सरकारबीचको सम्बन्धलाई अझ बलियो बनाउन जुटेका छौँ । जनताको आवश्यकताका आधारमा सेवा प्रवाह गर्दै आवश्यक योजना सञ्चालन गरिहेका छौँ”, अध्यक्ष कुलुङले भन्नुभयो । आगामी दिनमा पनि यस्ता शिविरलाई निरन्तरता दिँदै प्रभावकारी ढङ्गले जनताको घरदैलोमा सेवा प्रदान गर्ने योजना रहेको उहाँको भनाइ थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.