नेपाल टेलिकममा भद्र आन्दोलन: सञ्चालक समिति सदस्य लामिछाने आमरण अनशनमा

काठमाडौँ- नेपाल टेलिकम सञ्चालक समितिका सदस्य शंकर लामिछाने आमरण अनशनमा बस्नुभएको छ ।

काठमाडौँको भद्रकालीस्थित नेपाल टेलिकमका प्रबन्ध निर्देशकको कार्यकक्ष बाहिर लामिछानेले हिजोदेखि आमरण अनशन शुरु गर्नुभएको हो ।

नेपाल टेलिकमबाट सेवाग्राहीलाई दिइने सुविधा र संस्थानको समग्र सुधारको विषयमा सञ्चालक समितिले चासो नदिएको भन्दै उहाँले विरोध स्वरुप अनशन थाल्नुभएको हो ।

संस्था, सेवाग्राही र कर्मचारीको सरोकारका विषय सञ्चालक समितिको बैठकमा छलफल हुन नसकेको र छलफल गर्ने सम्भावना पनि क्षीण हुँदै गएकोले सञ्चालक समितिलाई दवाव दिन अनशनमा जानु परेको लामिछानेले बताउनुभयो ।

संस्था भित्रको कार्य संस्कृति, निर्णय गर्ने तौडतरिकामा सुधार तथा कम्पनी ऐनको मर्म अनुसार नेपाल टेलिकमको पूर्ण स्वायत्तताको माग पनि उहाँले राख्नुभएको छ।

यसका साथै संस्थाको आम्दानी पछिल्ला दिनमा घट्दै जाँदा पनि नीति बनाउने उच्च निकाय सञ्चालक समितिमा छलफल हुन नसकेको गुनासो उहाँको छ । संस्थाका आयोजनाहरुको तेश्रोपक्ष मुल्याङ्कन गर्नुपर्ने उहाँको भनाइ छ ।

संस्थामा कार्यरत कर्मचारीहरुको बृत्तिविकास र पेन्सन विहिनताको अन्त्य गर्नुपर्ने माग पनि लामिछानेले राख्नुभएको छ।

उहाँले यसअघि संस्थामा कृयाशील ट्रेड युनियनहरु र श्रमिकहरुसँग भएका सहमति र सम्झौता कार्यन्वयन गर्न पनि माग गर्नुभएको छ ।

लामिछानेले शुरु गर्नुभएको आमरण अनशनमा नेपाल टेलिकम भित्रका चार वटै ट्रेड युनियनहरुले ऐक्यवद्धता जनाएका छन ।

नेपाल दूरसंचार राष्ट्रिय कर्मचारी संगठन ( NTEAN), नेपाल टेलिकम वर्कर्स युनियन (NTCWU), नेपाल टेलिकम कर्मचारी युनियन (NTEU) र नेपाल राष्ट्रिय कर्मचारी संगठन-नेपाल टेलिकम (NEONNT) ले आज प्रेस विज्ञप्ती जारी गर्दै लामिछानेको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन ।

यसैगरी, युएनआई- नेपाल (UNI NLC) मा आवद्ध २१ वटा राष्ट्रिय ट्रेड युनियनहरुले पनि लामिछानेको माग पूरा गराउन नेपाल टेलिकमको उच्च व्यवस्थापनलाई आग्रह गर्दै आन्दोलनमा ऐक्यवद्धता जनाएका छन ।

नेपाल टेलिकम देशकै उच्च करदाता संस्था हो । यसले पछिल्लो बर्ष करिब ८ अर्ब नाफा गरेको थियो । करिब ४ हजार कर्मचारी कार्यरत नेपाल टेलिकमको हाल कुनै ऋण छैन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.