काभ्रेको विकट दुई पालिकाको मुहार फेरिदै

काभ्रे-  भौगोलिक रुपमा विकट रहेका काभ्रे डाडाँपारिमा रहेको खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकामा सहज रुपमा यातायात सञ्चालन गराउने उद्देश्यले सडक पुल तथा सडक स्तरोन्नतिको काम सुरु भएको छ ।
केन्द्रसम्म सहज रूपमा यातायात सेवा सञ्चालन गर्न खानीखोला गाउँपालिकाको वडा नम्बर ६ र ५ जोड्न खानीखोलामा पुल वागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालले शिलान्यास गर्नूभएको छ । खानीखोलामा निर्माण हुने पुल ३५ मिटर लम्बाइको पुल पाँच करोड ८२ लाख ९७ हजार ५६५ रुपियाँको लागतमा विसं २०८२ साल जेठ २५ गतेभित्र निर्माण गर्ने गरी सम्झौता भएको थियो ।
यस्तै गरी प्रदेशको बजेटमा महाभारत गाउँपालिकाको वडा नम्बर १ र ३ लाई सडकसँग जोड्न बनखु खोलामा पुल निर्माण सुरु भएको छ । बनखु खोलामा ५० मिटर लम्बाइको पुल सात करोड सात लाख ९९ हजार ९४६ रुपियाँको लागतमा विसं २०८२ साल जेठ २५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने छ ।
यसैबिच मन्त्री दुलालले महाभारत गाउँपालिकाभित्र पर्ने जनमुक्ति मार्गको देवीटार–घर्तीछाप–गोकुले–छोटेसान–भोर्लेनी सडक अन्तर्गतको नौ किलोमिटर ३८० मिटर सडक स्तरोन्नति तथा कालोपत्रेको शिलान्यास गर्नुभएको छ । भ्याटसहित ३९ करोड ७४ लाख ५५ हजार १८ रुपियाँको लागतमा स्तरोन्नति हुने उक्त सडक विसं २०८१ साल चैत ३ गते सम्पन्न गर्ने गरी सन्तोषी–धर्म एस जेभीसँग गत असोज ४ गते सम्झौता भएको थियो ।
पुल तथा सडक शिलान्यास कार्यक्रममा मन्त्री दुलालले विगतका विकासमा पछाडि पारिएका खानीखोला र महाभारत जस्ता गाउँपालिकाको विकास गर्ने अभियानका साथ प्रदेश सरकारले विकासका कार्यक्रम अघि बढाएको बताउनुभयो। उहाँले प्रदेश सरकारले प्रदेशको महत्त्वपूर्ण योजनाका रूपमा बिपी राजमार्गदेखि मदन भण्डारी राजमार्गसम्म जोड्ने ७१ किलोमिटर लामो जनमुक्ति मार्गका विभिन्न स्थानमा सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने काम भइरहेको बताउनुभयो।

कार्यक्रममा प्रदेश सभा सदस्य रत्न ढकालले खानीखोला र महाभारत गाउँपालिकाका जोड्ने सडक तथा पुल निर्माण सम्पन्न भएसँगै दुई पालिकाका नागरिकले उत्पादन गरेका वस्तु बजारसम्म पु–याउन र स्थानीयको आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने बताउनुभयो।
खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले खानीखोला गाउँपालिका, कालोपत्रेले नछोएको, वर्षायाममा गाडी नचल्ने पालिका भएकोले प्रदेश सरकारले सोही अनुसार कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभयो ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले गाउँपालिकाभित्र ३५० किलोमिटरभन्दा बढी सडक खनिएको बताउनुभयो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.