दुई सय ६४ स्थानमा बस बिसौनी निर्माण गर्दै कामपा

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सडक सुरक्षा कायम राख्नका लागि दुई सय ६४ स्थानमा बस बिसौनी निर्माण गर्ने भएको छ । यसका लागि कामपाले चालु आर्थिक वर्षमा रु १३ करोड बजेट विनियोजन गरेको छ ।

कामपाले यस वर्ष प्रत्येक चोकबाट पाँच सय मिटर अगाडि वा कम्तीमा दुई सय मिटर पछाडि यस्तो किसिमको बस बिसौनी निर्माण गर्न लागेको कामपाको ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले सञ्चालन भइरहेको केही र अन्य केही स्थानमा थप गरी बस बिसौनी विस्तार गर्न खोजिएको सल्लाहकार श्रेष्ठले भन्नुभयो ।

उहाँले भन्नुभयो, “चोकमा नै बस बिसौनी निर्माण गर्दा थप दुर्घटना बढेको भन्दै चोकको पाँच सय मिटर अगाडि वा दुई सय मिटर पछाडि निर्माण गर्न लागिएको हो, जुन आधुनिक हुन्छ, जहाँ निःशुल्क रुपमा इन्टरनेटको प्रयोग गर्न पाइन्छ ।”

जहाँ कुन रुटको बस कहाँ आइपुग्यो र अब यात्रुले कति समय पर्खनुपर्छ बन्नेबारे समेत जानकारी लिन सकिने व्यवस्था गर्न लागिएको छ । यसरी निर्माण गरिने बस बिसौनीमा एकपटकमा तीनवटासम्म बस रोक्न मिल्ने बनाउने तयारी रहेको छ ।

बस बिसौनी निर्माणका लागि बोलपत्र आह्वान गर्ने अन्तिम तयारी भइरहेको र त्यसपश्चात् काम सुरु हुने कामपाको भनाइ छ ।

त्यसैगरी, बसको रुट मिलाउने, सडक बत्ती विस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक सङ्केत र चिह्न व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारीसमेत भइरहेको बताइएको छ ।

यससँगै दैनिक उपभोग्य वस्तुको ढुवानी, मालवाहक सवारी, विद्यालयका बसहरुको समय निर्धारण गर्ने, पार्किङ व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणालीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने पनि कामपाको तयारी छ ।

सल्लाहकार श्रेष्ठले सडकमा सङ्केत चिह्नहरु मिलाउन तत्काल काम थाल्नुपर्ने बताउनुभयो । “यस्ता चिह्नहरु आधिकारिक निकायले मात्र राख्नुपर्ने, अध्ययन गरेरमात्र राख्नुपर्ने भएकाले कामपाले अध्ययनको काम भइरहेको छ,” उहाँले भन्नुभयो ।

सडक चिह्नहरु देखिने र स्पष्ट हुनुपर्छ । बुझ्न सजिलो हुनुपर्छ । प्रोत्साहन दिने खालका हुनुपर्छ । चालु आवमा कामपाको अधिकार क्षेत्रमा पर्ने यातायात क्षेत्रको सुधारका लागि रु ४४ करोड छुट्याइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.