काँग्रेस बैठक : मन्त्रीमण्डल हेरफेरमा बाधक नबन्ने

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आजदेखि सुरु भएको छ ।

पार्टी मुख्यालय सानेपामा सुरु भएको बैठकमा राष्ट्रिय सभाको आगामी निर्वाचन, महासमिति बैठक र सरकारको कामकारवाही लगायतका विषयमाथि नेताहरुले आफ्ना धारणा राखेका छन।

केन्द्रीय सदस्यहरुको बोल्ने क्रम भोलि पनि जारी रहने छ ।

बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले गठबन्धन सरकारको कामकारवाहीप्रति असन्तुष्टी जनाएका छन् ।

पार्टी मुख्यालय सानेपामा सुरु भएको बैठकमा बोल्ने अधिकांस नेताहरुले सरकारले राम्रो काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन । प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन भएको ठिक एक वर्ष पुगेको भोलिपल्टै बसेको बैठकमा मन्त्रीपरिषदका सदस्य फेरवदलसम्मको आवाज पनि उठेको छ ।

प्रधानमन्त्रीले नै मन्त्रीहरुको कामकारवाहीप्रति कटाक्ष गर्नुभएको प्रसंगमा पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा सहभागी मन्त्रीहरु फेरवदल गर्नुपर्ने अवस्थामा कांग्रेस वाधक बन्न नहुने धारणा अधिकांशको छ ।

बैठक राष्ट्रिय सभा सदस्य निर्वाचन महासमिति बैठक र पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको कार्यसम्पादनमाथि समीक्षा गर्ने मुख्य एजेन्डा राखेर बैठक बोलाएको हो ।

तर, मन्त्रिपरिषद्को बैठकका कारण पहिलो दिनमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतबाहेक अन्य मन्त्रीहरुले आफ्नो कार्य सम्पादन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्न पाएनन् ।

मन्त्रीको काम कारवाहीबाट स्वयम् प्रधानमन्त्री नै असन्तुष्ट देखिएकाले उहाँले चाहेको खण्डमा मन्त्रीमण्डल फेरवदल गरेपनि त्यसमा कांग्रेस बाधक नहुने प्रचार विभाग प्रमुख मिन विश्वकर्माको भनाइ छ ।

बैठकमा नेताहरुले पटक-पटक अवसर पाएका र चुनाव हारेकालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार नबनाउन नेतृत्वलाई दबाब दिएका छन् ।

आगामी माघ ११ गते हुने निर्वाचनका लागि २०४८ सालदेखि पटक–पटक अवसर पाएकाहरुसमेत उम्मेदवार बन्न आकांक्षी देखिएपछि बैठकमा अवसर नपाएका अनुभवी र विज्ञलाई उम्मेदवार बनाउन केन्द्रीय सदस्यहरुले पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् ।

त्यस्तै, भ्रष्टाचारका हरेक काण्डमा कांग्रेस संरक्षक भएको जस्तो सन्देश जान थालेको भन्दै त्यसको प्रतिवाद नेतृत्वतहबाटै हुनुपर्नेमा नेताहरुले जोड दिएका छन् ।

पार्टी सरकारमा भएको अनुभूतिसमेत गर्न नपाएको अधिकांश नेताहरुको गुनासो छ ।

बैठकले आगामी पुस १६ गते मेलमिलाप दिवसका सन्दर्भ पारेर एक महिनाको वडास्तरमा पार्टीको अभियान चलाउने निर्णय गरेको छ ।

पुस १६ देखि माघ १२ गतेसम्म चल्ने अभियानमा पार्टीका केन्द्रीय सदस्यहरु आफू जन्मेको वडामा पुगेरै अभियानमा संलग्न हुने निर्णय गरिएको छ ।

तीन दिनसम्म चल्ने कार्यतालिका रहेको पहिलोदिनको बैठकमा दुई दर्जन केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.