धनकुटामा साकेलाको रौनक
धनकुटा – किराँत राईहरुको महान पर्व उधौली धुमधामसँग धनकुटामा धुमधामसँग मनाइएको छ। किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बुहरूले चासोक तङ्नाम भन्छन्। बाली लगाउने बेलामा भने किरात जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ।
साकेला उधौलीको अवसरमा धनकुटाको तल्लो टुँडिखेलमा शनिबार झाँकी प्रदर्शन गरिएको हो। किराँत राई यायोख्खाको आयोजना भएको झाँकी प्रदर्शनमा साकेला सिल्ली नृत्य, सहिदभूमिका राईहरुको पापानी नाच र आठपहरिया राईको वढाङ्मी नाच प्रस्तुत गरिएको थियो। रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ।
किराँत समुदायको उल्लेख्य बसोबास रहेको धनकुटामा उधौली पर्व धुमधामका साथ मनाइएको हो। अन्नलाई किराँत समुदायले माङ् (देवता) का रुपमा मनाउने गर्दछ। पछिल्लो पुस्तामा झाँकी भनेको थाहा हुन छाडेकाले नयाँ पुस्तालाई झक्झकाउन कार्यक्रमको आयोजना गरिएको किराँत राई यायोख्खा धनकुटाको अध्यक्ष उद्धवमणि राईले जानकारी दिनुभयो।
प्रतिक्रिया राख्नुहोस्