संयुक्त आयोगको बैठकमा सहभागि हुन भारतीय विदेशमन्त्री जयशङ्कर नेपालमा

काठमाडौ-  भारतीय विदेशमन्त्री डा एस जयशङ्कर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आइपुग्नुभएको छ । उहाँ भारतीय विशेष विमानमार्फत आज बिहान यहाँ आइपुग्नुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले स्वागत गर्नुभयो ।

संयुक्त आयोगको बैठक यही पुस १९ र २० गते काठमाडौँमा हुँदैछ । संयुक्त आयोगको बैठकमा परराष्ट्रमन्त्री साउद र उहाँका भारतीय समकक्षी डा जयशङ्करले आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ । बैठकले द्विपक्षीय सम्बन्धको समग्र अवस्था र आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री डा जयशङ्करले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै राष्ट्रपतिको कार्यालयमा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने तालिका छ । यसैगरी आजै दिउँसो होटल याक एण्ड यतीमा संयुक्त आयोगको बैठक बस्ने र सम्झौतामा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री साउदले उहाँ र प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ । विदेशमन्त्री डा जयशङ्करले भोलि पुस २० गते त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र भूकम्पपछिका पुनःनिर्माण परियोजनाको उद्घाटन गर्नुहुनेछ । विदेशमन्त्री डा जयशङ्कर भोलि पुस २० गते नै स्वदेश फर्कनुहुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.