पकेट क्षेत्रमै ६० प्रतिशत घट्यो सुन्तला उत्पादन

पर्वत- सुन्तला उत्पादनका लागि ख्याति कमाएको पर्वतको मोदी गाउँपालिका–२ देउपुरका सुन्तला कृषक गत वर्षजस्तो खुसी छैनन् । किनकी, यस वर्ष उहाँहरुले सोचेअनुसारको कमाइ भएन ।

गत वर्ष सुन्तला उत्पादनबाट रु पाँच करोडभन्दा बढी भित्र्याएका कृषकले यस वर्ष झन्डै रु दुई करोडमा चित्त बुझाउन बाध्य भएका छन् । गत वर्षभन्दा ६० प्रतिशतले उत्पादनमा कमी आएको कृषकले गुनासो गरेका छन् । सुन्तला पकेट क्षेत्र भए पनि बोट मर्ने र फल पाक्ने बेलामा औँसा किराको प्रभावले पनि यस वर्ष उत्पादनमा ६० प्रतिशतले गिरावट आएको स्थानीय कृषक खेमनाथ पौडेलले जानकारी दिनुभयो ।

यहाँका बगैँचामा सुन्तला किन्नका लागि काठमाडौँ पोखरा, नारायणगढदेखि व्यापारी घरघरमै आएर लगिसकेका छन् । तीन वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि यस वर्ष व्यापारीलाई निजी ढङ्गले बगैँचा जिम्मा लगाएको माछापुच्छ्रे सुन्तला सहकारी संस्थाका पूर्वअध्यक्ष दाताराम चापागाईँले बताउनुभयो ।

यस वर्ष उत्पादन घटेकाले गत वर्षजस्तो राम्रो कमाइ नभएको उहाँले बताउनुभयो । “गएको वर्ष रु पाँच करोडभन्दा बढीको सुन्तला बिक्री गरेका थियौँ । यस वर्ष मुस्किलले रु दुई करोड जति आम्दानी भएको अनुमान छ”, चापागाईँले भन्नुभयो । आफूले गत वर्ष रु छ लाखको सुन्तला बिक्री गरेकामा यस वर्ष रु दुई लाखभन्दा आम्दानी नभएको उहाँले गुनासो गर्नुभयो ।

स्थानीय शिक्षक भूमिराज शर्माका अनुसार सुन्तला टिप्नका लागि एक साताअघिसम्म व्यापारीका कामदारले देउपुरका बगैँचा भरिएका थिए । सुन्तला टिप्ने र लैजानेका कारण मेला लागेजस्तै देखिएको थियो । थोक व्यापारीले बगैँचाबाट नै खरिद गरेपछि कृषकलाई पनि सहज भएको उहाँले उल्लेख गर्नुभयो ।

देउपुरका कृषक खेमराज पौडेलले एक वर्ष बढी फल्ने र अर्को वर्ष कम फल्ने भएकाले गत वर्षजस्तो उत्पादन नभएको बताउनुभयो । उहाँले गत वर्ष रु पाँच लाखमा सुन्तलाको बगैँचा बिक्री गरेको बताउँदै यस वर्ष झण्डै आधा जति घटेको जानकारी दिनुभयो । विगत दुई दशकदेखि गरिएको व्यावसायिक सुन्तला खेतीबाट यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनाएका छन् ।

परम्परागत रुपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकले सुन्तला खेती गरिएपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन आएको छ । यहाँका एक सय ६० भन्दा बढी कृषक अन्य खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा लागेका हुन् ।

साविक देउपुर गाविसमा सुन्तलाको सम्भाव्यता उच्च भएकाले विगत लामो समयदेखि सुन्तला खेतीलाई व्यावसायिकरुपमा सुरु गरेको अर्का कृषक विजय चापागाईँले बताउनुभयो । उहाँले सुन्तला खेतीको विस्तारका लागि अझै प्रयास गर्न जरुरी रहेको बताउनुभयो । सुरुमा कोदो मकै मात्र लगाएर बस्ने गरेको ठाउँमा सुन्तला लगाएपछि वार्षिकरुपमा प्रत्येक परिवारको रु दुईदेखि सात लाखसम्म कमाइ हुन थालेको चापागाइ छ ।

यस वर्षदेखि सुन्तलाका बोट मर्न थालेको स्थानीय टीकाराम तिमिल्सिनाले बताउनुभयो । ठूला र साना बोट पनि धमाधम मर्न थालेको र रोग पत्ता नलागेको उहाँले बताउनुभयो । विभिन्न औषधि प्रयोग गरे पनि निरन्तर रुख सुक्न थालेको उहाँको भनाइ छ ।

यता कृषि ज्ञान केन्द्र पर्वतका बागवानी विकास अधिकृत शङ्कर पौडेलले बोटमा लामो समय फल राख्दा अर्को वर्षको उत्पादनमा कमी आउने बताउनुभयो । उहाँले देउपुरमा औँसा कीरा, फल झर्नेलगायत अन्य सङ्क्रमणका कारण पनि सुन्तलाको उत्पादन गत वर्षभन्दा घटेको बताउँदै समग्र जिल्लाभरमा भने उत्पादनमा असर नगरेको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.