मह खाने प्रतियोगिता

गण्डकी- सुन्दा अनौठो लाग्न सक्छ, दुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थाल्नुभएको व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ ।

विसं २०६० मा रु तीन-तीन हजारमा दुईवटा मौरीका घारबाट सुरु गरेका उहाँसँग अहिले भने तीन सय ५० मौरीका घार पुगिसकेका छन् । आफ्नो अनुहार भरी मौरीलाई राख्न सफल भई स्वदेश तथा विदेशमा चर्चा कमाएका लामिछानेसँग मौरीकै कारण नेदरल्याण्डसहित युरोपियन मुलुकमा भ्रमण गर्न पाएका मीठा अनुभव छन् ।

आफ्नो व्यावसायिकतामा उत्साह थप्न सञ्चारमाध्यमले ठूलो भूमिका निर्वाह गरेको बताउँदै लामिछानेले मौरीपालनको इच्छा र लगाव हुनसकेमा सामान्य रोजगारीका लागि विदेशिनु नपर्ने बताउनुभयो ।

बेगनास मौरीघार उद्योगमार्फत मौरीपालन व्यवसाय गरिरहनुभएका लामिछानेले उद्योग स्थापनाको २० औँ वार्षिकोत्सव मह खाने प्रतियोगिताका साथ मनाउनुभएको छ ।

प्रतियोगितामा १० जना सहभागी भएकोमा पोखरा महानगरपालिका–२३ का जीवनाथ लामिछाने प्रथम हुनुभएको छ । त्यस्तै द्वितीय पोखरा–३० खुदीका वसन्त पौडेल र तृतीय पोखरा–२७ का विक्रम अधिकारी बन्नुभयो ।

पोखरा–३१ की सृजना लामिछानेले महिला प्रतिस्पर्धीका रुपमा पुरस्कृत बन्नुभएको थियो । कूल तीन सय ग्राम महका लागि तीन मिनेटको समय छुट्याइएकोमा प्रथम, द्वितीय र तृतीयले क्रमशः एक मिनेट ४८ सेकेन्ड, दुई मिनेट आठ सेकेन्ड र दुई मिनेट ११ सेकेन्डमा मह खाएर विजयी हुनुभएको थियो ।

विजयीलाई महानगरको वडा नं ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, ३१ का वडाध्यक्ष ढकनाथ कँडेल र मौरीपालक कृषक सूर्यप्रसादले संयुक्तरुपमा मह प्रदान गरी पुरस्कृत गर्नुभएको थियो ।

प्रथम हुनेलाई एक किलोग्राम महसहित एक फ्रेम चाकासहितको मह, द्वितीय हुनेलाई एक किलोग्राम मह र तृतीय हुनेलाई आधा किलोग्राम मह प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.