लुम्बिनीमा ३ र मधेश प्रदेशमा १ मत बाहेक सबै मत खस्यो
मत गणनाको तयारी शुरु

दाङ-लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको छ । कूल तीन सय पाँच मतदाता रहेकोमा तीन सय तीन मत खसेकोे निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयले राससलाई जानकारी दिनुभयो।
मतदानमा प्रदेशसभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका दुई सय १८ मत मध्ये दुई सय १६ मत खसेको र दुई मत खस्न बाँकी रहेकामा मतदानको समय ३ बजे सम्म रहेपनि बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवि श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय आउननसक्ने जानकारी गराएपछि मतदानसम्बन्धी सम्पूर्ण काम सम्पन्न भएको निर्वाचन अधिकृत पाण्डेयले बताउनुभयोे ।
दुई सिटका लागि भएको निर्वाचनमा ८७ प्रदेश सभा सदस्य र दुई १८ स्थानीय तहका प्रमुख उपप्रमुख गरी तीन सय पाँच मतदाता थिए भने छ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । अबको केही बेरमा मत गणना थालिने उहाँले जानकारी दिनुभयो ।
यसैगरी, राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेश प्रदेशमा दुई पदका लागि मतदान सम्पन्न भएको छ ।
आज बिहान ९ बजेदेखि तीन बजेसम्म भएको निर्वाचनमा तीन सय ७४ मतदातामध्ये तीन सय ७३ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख नवीन चौधरीले राससलाई जानकारी दिनुभयो ।
मधेश प्रदेशसभाका एक सय सात सदस्यमध्ये एक सय छ जना र स्थानीय तहका प्रमुख÷उपप्रमुख र अध्यक्ष-उपाध्यक्षतर्फ दुई सय ६७ जनाले नै मतदान गरेको चौधरीले बताउनुभयो ।
मतदान सम्पन्न भएकाले आजै केहीबेरमा मतगणना गर्ने गरी सर्वदलीय बैठकको तयारी भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ स्थित महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा मतदान केन्द्र र मतगणनाको व्यवस्था गरिएको छ । अन्य (खुला) र महिलातर्फका दुई सदस्यका लागि पाँच जना प्रतिस्पर्धामा हुनुहुन्छ ।
दुई सदस्यमध्ये अन्य समूहमा नेपाली कांग्रेसबाट आनन्दप्रसाद ढुंगाना (धनुषा), नेकपा (एमाले) बाट कुमारी विजेता झा (धनुषा) र जनमत पार्टीबाट रामशङ्कर महासेठ (धनुषा) को उम्मेदारी छ भने महिला समूहमा एमालेबाट उषादेवी थरुनी (पर्सा), जनता समाजवादी पार्टी (जसपा) बाट पूजा चौधरी (रौतहट) उम्मेदवार हुनुहुन्छ ।






प्रतिक्रिया राख्नुहोस्