कोशीमा काँग्रेसका सिटौला र एमालेकी कोइराला विजयी

काठमाडौँ- राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धन दलको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुनुभएको छ । गठबन्धबाट उम्मेदवार बन्नुभएका सिटौलाले नेकपा एमाले-राप्रपा गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्नुभएको हो ।
प्राप्त मतपरिणाम अनुसार नेता सिटौलाले ५२९२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी राप्रपाका उद्धव पौडेलले ४५६२ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका उम्मेदवार पर्शुराम अधिकारीले १४८ मत प्राप्त गर्नुभएको छ ।
नेता सिटौलाले कुल ९३ जना प्रदेश सभा सदस्य मध्ये ४५ जनाको मत प्राप्त गर्नुभयो भने पौडेलले ४७ जनाको मत प्राप्त गर्नुभयो । एक मत भने बदर भएको थियो ।
यस्तै कोशीबाट राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको एमालेको तर्फबाट उम्मेदवार बन्नुभएकी कोइरालाले गठबन्धनका उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्दै जित निकाल्नुभएको हो ।
प्राप्त मतपरिणाम अनुसार कोइरालाले ५०८६ मत प्राप्त गर्दा कार्कीले ४९९२ मत मात्र प्राप्त गर्नुभयो । कार्कीलाई गठबन्धनका तीन जना प्रदेश सभा सदस्यले मत क्रस गरेको गणनाका क्रममा देखिएको थियो ।
कूल ९३ जना प्रदेश सभा सदस्य मध्ये कोइरालाले ४९ जना सांसदको मत प्राप्त गर्नुभयो भने कार्कीले ४४ जनाको मत प्राप्त गर्नुभएको थियो ।।





प्रतिक्रिया राख्नुहोस्