सवारी दुर्घटनामा पूर्वमन्त्री पौडेलको निधन

चितवन- बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । चितवनको गैँडाकोट नगरपालिका–५ कालीगण्डकी चोकमा आज भएको दुर्घटनामा परी उहाँको निधन भएको हो ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४६प ७७५९ नं को मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग१ख ८५४७ नं को जन्ती बोकेको बसले ठक्कँर दिँदा ६७ वर्षीय पौडेलको निधन भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते उहाँको उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको हो । भरतपुर महानगरपालिका–१७ बनगाई निवासी पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो ।

नेता पौडेलका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार पौडेल विद्यार्थी राजनीति गर्दै पार्टीको राजनीतिमा आउनु भएको थियो ।

विसं २०३६ मा उहाँ विद्यार्थी नेता हुँदै गर्दा वनारसबाट बिपी कोइरालाको सन्देश लिएर नेपाल आउनुहुन्थ्यो । नेता पौडेलले साविक चितवन क्षेत्र नं ४ को दुई पटक क्षेत्रीय सभापति भएर काम गर्नु भएको थियो । उहाँको निधनमा नेपाली कांग्रेस चितवनले दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.