गुल्मीमा सवारी साधनको भाडा दर घटाइयो

गुल्मी- गुल्मी जिल्लाका केहि सडकहरुमा चल्ने सवारी साधनको भाडा दर घटाइएको छ । जिल्ला यातायात व्यवस्थान समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी श्री कृष्ण प्रसाद शर्माको अध्यक्षतामा यातायात व्यवसायीहरुको सहभागितामा बसेको बैठकले केहि सडकहरुमा चल्ने सवारी साधनको भाडादर घटाएको हो ।
सडकहरुको अवस्था सुधार भएपनि भाडा दर महङ्गो लिने गरेको गुनासो आएपछि नयाँ भाडा दर लागु गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । समायोजन गरिएको भाडा दर अनुसार रिडी–खैरेनी बस भाडा १ सय २० र रिडी– मजुवा बस ३ सय तोकिएको छ ।
त्यस्तै रिडी-खैरेनी जीपको भाडा १ सय ३० र रिडी-मजुवा जीप ३ सय १०कायम गरिएको शर्माले बताउनुभयो । यो भाडादर पहिलेको भन्दा कम रहेको छ ।
तम्घास–धुर्कोट (बर्बोट) साविकको भाडादरमा २० रुपैया घटाउने प्रशासनले निर्णय गरेको छ । तोकिएको भाडा दर अनुसार सवारी साधानहरु सञ्चालन गर्न प्रशासनले यातायात व्यवसायीलाई आग्रह गरेको छ ।
पछिल्लो समय गुल्मी जिल्लाका ग्रामीण भेगका सडकहरु स्तर उन्नतीसँगै सडक ग्राभेल र कालोपत्रे हुन थालेका छन् । जसले गर्दा सवारी साधानहरुले भाडा दर घटाएर लिनुपर्ने माग नागरिकको रहेको छ ।
जिल्लामा पछिल्ला केही वर्षयता भाडा दर कायम गरिएको छैन् । जसले गर्दा अन्य सडकहरुमा चल्ने सवारी साधनहरुले पुरानै तोकिएको भाडादर लिने गरेका छन् ।
जिल्लाका अन्य सडकको अवस्थाको आधारमा भाडादर हेरफेर गरिने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । सडकहरुको अवस्था र यातायात व्यवसायी लगायत सरोकारवालाहरुसँगको छलफल पछि अन्य सडकहरुको पनि भाडा दर समायोजन गरिने प्रशासनले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्