महोत्सव हेर्न आउनेलाई दूध र अण्डा निःशुल्क

त्रिशूली – नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सवमा अवलोकनकर्तालाई दूध र अण्डा निःशुल्क उपलब्ध गराइएको छ ।
महोत्सव आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घको आग्रहअनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले अवलोकनकर्तालाई निःशुल्क दूध र अण्डा उपलब्ध गराएको हो । शुक्रबारदेखि सुरु महोत्सवभित्र स्टल राखेर अवलोकनकर्तालाई एक कप दूध र एक–एक वटा उसिनेको अण्डा वितरण भइरहेको विज्ञ केन्द्रका पशु विकास अधिकृत भरत पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार मेला–महोत्सवलाई सहयोग पुयाउन कार्यालयलाई प्राप्त बजेट र अन्य निकायसँगको सहकार्यमा अवलोकनकर्तालाई निःशुल्क दूध र अण्डा उपलब्ध गराइएको हो ।
“विगतका वर्षमा मेला आयोजकलाई एकमुष्ट नगद सहयोग गर्ने गरिएको थियो”, अधिकृत पाण्डेले भन्नुभयो, “सहयोग गरिएको रकम लक्ष्यअनुसार खर्च गराउन चुनौती देखिएपछि महोत्सव अवलोकनकर्तालाई दूध र अण्डाको नियमित सेवनको महत्वको प्रचारसहित उपलब्ध गराइएको हो ।”
महोत्सवमा दैनिक औसत दुई सय ५० लिटर दूध र पाँच हजार वटा हजार अण्डा खर्च भएको छ । मेला अवधिभरका लागि दूध र अण्डा निःशुल्क पु¥याउन कार्यालयको बजेट अपुग हुने भएकाले सहयोगी निकायसँग सहकार्य भइरहेको विज्ञ केन्द्रका प्रमुख डा रामप्रकाश प्रधानले जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार उद्घाटन गर्नुभएको आठौँ नुवाकोट महोत्सव आगामी फागुन ७ गतेसम्म चल्ने आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
‘ऐतिहासिक, धार्मिक, कृषि, पर्यटन व्यवसाय र कला संस्कृतिको विकास नुवाकोट संस्कृतिको निकाश’ भन्ने नारासहित जारी महोत्सवले जिल्लाका किसानले उत्पादन गरेका कृषि उब्जनीको बिक्री तथा प्रदर्शनी, धार्मिक र सांस्कृतिकस्थल तथा सम्पदाको प्रचारप्रसारमा जोड दिन केन्द्रित गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.