उद्योगमन्त्री भण्डारी र युएसपिटीओका निर्देशकबीच छलफल

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र अमेरिकी वाणिज्य तथा बौद्धिक सम्पत्ति कार्यालयका उपसचिव एवं युनाइटेड स्टेट प्याटेन्ट एन्ड ट्रेडमार्क अफिस (युएसपिटीओ) का निर्देशक क्याथरिन के भिडेलबीच आज मन्त्रालयमा छलफल भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युएसपिटीओबीच बौद्धिक सम्पत्तिमा द्विपक्षीय सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रलाई स्वीकृत गरिएको छ । नेपालले विश्वव्यापार सङ्गठन र विश्व बौद्धिक सम्पत्ति सङ्गठनको सक्रिय सदस्य हुँदाहुँदै पनि बौद्धिक सम्पत्तिको सिर्जना गरी व्यापार तथा लगानीमा त्यसको लाभ लिनुपर्ने उद्योगमन्त्री भण्डारीले बताउनुभयो ।

“हामीले व्यापार सम्बद्ध बौद्धिक सम्पत्ति अधिकार (ट्रिप्स) सम्झौताको धारा ६६.२ र लाभको बाँडफाँटमा पहुँचसम्बन्धी नागोया प्रोटोकलअनुसार लाभ लिने सम्बन्धमा अमेरिकी सरकारबाट निरन्तर सहयोगको अपेक्षा राखेका छौँ”, उहाँले भन्नुभयो ।

यस क्षेत्रमा रहेका सम्भावना र अवसरबाट लाभ लिन नेपालले बौद्धिक सम्पत्ति नीति बनाएको तथा पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन प्रतिस्थापन गरी औद्योगिक सम्पत्ति कानून निर्माणमा लागिरहेको उहाँको भनाइ छ ।

“औद्योगिक सम्पत्तिको सिर्जना र उपयोगका क्षेत्रमा युएसपिटीओको अनुभव, असल अभ्यास र सहकार्यबाट नेपालले पेटेन्ट, डिजाइन, ट्रेडमार्कलगायत औद्योगिक सम्पत्तिको सिर्जना, विकास, संरक्षण र प्रवद्र्धनमा लाभ लिनसक्ने मैले विश्वास लिएको छु”, उद्योगमन्त्री भण्डारीले भन्नुभयो, “यो सहकार्यसम्बन्धी सम्झौताले नेपालको बौद्धिक सम्पत्ति संरक्षण कार्यालय र त्यहाँ कार्यरत जनशक्तिको सीप तथा क्षमता अभिवृद्धि भई व्यापार तथा लगानीको वातावरण निर्माणमा थप इँटा थप्ने कुरामा म विश्वस्त रहेको छु ।”

अमेरिकी लगानीकर्तालाई नेपालमा निर्धक्क भएर लगानी गर्न पनि मन्त्री भण्डारीले आह्वान गर्नुभयो । सो अवसरमा भिडेलले नेपाल सरकारसित सहकार्य गर्न युएसपिटीओ तयार रहेको बताउनुभयो । साथै उहाँले नेपालमा लगानी बढाउने कुरामा अमेरिका सरकार सकारात्मक रहेको धारणा राख्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.