नेपाल प्रज्ञा-प्रतिष्ठान ६३ औँ वर्ष प्रवेश, राष्ट्रिय कविता महोत्सव स्थगित

काठमाडौँ- नेपाल प्रज्ञा–प्रतिष्ठानले स्थापनाको ६२ औँ वर्ष पूरा गरी ६३ औँ वर्ष प्रवेश गरेको छ । प्रज्ञा-प्रतिष्ठानको वार्षिकोत्सवमा विगतमा हुँदै आएको राष्ट्रिय कविता महोत्सवलगायत कार्यक्रम भने नहुने भएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष राष्ट्रिय कविता महोत्सवसमेत नहुने प्रज्ञा-प्रतिष्ठानले जनाएको छ ।

प्रज्ञा-प्रतिष्ठानको ६३ औँ वार्षिकोत्सव समारोह र राष्ट्रिय कविता महोत्सव २०७७ सहज अवस्था नआएसम्मका लागि स्थगित गरेको प्रतिष्ठानका कुलपित गङ्गाप्साद उप्रेतीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय कविता महोत्सवका लागि तोकिएको समयभित्र प्राप्त ५०२ वटा कवितालाई सिलबन्दी र लाहाछाप गरी सुरक्षित राखिएको र अनुकुल समयमा महोत्सव आयोजना गरी सम्बन्धित कविताहरुको समुचित मूल्याङ्कनका साथै पुरस्कार प्रदान गरिने उहाँले उल्लेख गर्नुभयो ।

वि. सं २०१४ असार ९ गते नेपाली साहित्य कला एकेडेमीका नामबाट यसको स्थापना भएको थियो । पछि ऐन जारी हुँदा नेपाल एकेडेमीको नाम पाएको प्रज्ञा–प्रतिष्ठान बिचमा रोयल नेपाल एकेडेमी र नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै २०६२/०६३ को लोकतान्त्रिक गणतन्त्रात्मक आन्दोलनको सफलतापछि २०६४ मा जारी ऐनअनुसार हाल नेपाल प्रज्ञा–प्रतिष्ठानका रूपमा सञ्चालित छ ।
कुलपति उप्रेतीले नेपाली वाङ्मयका क्षेत्रमा प्रज्ञा-प्रतिष्ठानले युगीन महवका अनेकौँ काम सम्पन्न गरिसकेको बताउनुभयाे । उहाँका अनुसार प्रतिष्ठानले नेपालका भाषा, साहित्य, कला, दर्शन, इतिहास, संस्कृति, पुरातत्व, संगीत, समाजशास्त्र, मानवशास्त्र, विज्ञानलगायत विषय र तिनका विभिन्न विधा उपविधाहरुको अध्ययन अनुसन्धान, विमर्श र प्रकाशन गर्ने काम निरन्तर गर्दैआएको छ । साथै नेपालको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारसमेत गर्ने उद्देश्यलेले स्थापित नेपाल प्रज्ञा-प्रतिष्ठान हाल भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र जस्ता पाँच वटा विषय क्षेत्रमा विशिष्टीकृत भएको जानकारी दिनुभयो ।

हाल यी पाँच विषय क्षेत्रका ११ वटा विभागहरु क्रियाशील रहेका प्रज्ञा-प्रतिष्ठानले जनाएको छ । यी प्रत्येक विभागअन्तर्गत वार्षिक रुपमा अध्ययन अनुसन्धान, गोष्ठी, कार्यशाला हुँदै आएको उहाँको भनाइ छ । प्रज्ञा-प्रतिष्ठानले नेपाल चिनाउने वृहत् ग्रन्थ नेपाल दर्पण लेखन कार्यको प्रारम्भ गरेको छ । कूलपति उप्रेतिको विज्ञप्तिमा उल्लेख छ, ‘हरेक प्रदेशका सम्पूर्ण पक्षहरू समेटिएका एक एक ग्रन्थ र ती सबैको एउटा सिङ्गो रूप ‘नेपाल दर्पण’ तयार गरी त्यसलाई नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशन गर्ने राष्ट्रिय गौरवको योजनाको सम्पन्नता अहिलेको हाम्रो मूल अभीष्ट रहेको छ ।’ यसरी नै महाकवि देवकोटाको घरलाई सङ्ग्रहालय बनाउने, ‘नेपाली बृहत् शब्दकोश’लाई युगानुकूल प्रविधिमुखी बनाउन एपमा लैजाने, ‘नेपाली बृहत् शब्दकोश’को परिमार्जित दसौँ संस्करण प्रकाशन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, नेपालका सम्पूर्ण साहित्यकारहरू र कलाकारहरूको परिचयात्मक ग्रन्थ साबिकको ‘साहित्यकार–कलाकार परिचयकोश’ लाई परिमार्जनसहित ‘लेखक–कलाकार परिचयकोश’ का रूपमा प्रकाशन गर्ने, लगभग डेढ लाख शब्दहरू समेटिएको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ प्रकाशन गर्ने, नेपाली भूमिमा उत्पत्ति भएका सम्पूर्ण दर्शनहरू समेटिएको ‘नेपाली दर्शन’ ग्रन्थ प्रकाशन गर्ने योजना रहेको कूलपति उप्रेतीले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.