म्युजिक भिडियोका विश्वकिर्तिमानी लुइँटेल सम्मानित

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सर्वाधिक उचाइमा म्यूजिक भिडियो निर्माण गरी विश्वकीर्तिमान कायम गर्ने राजेन्द्र लुइँटेललाई सम्मान गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति पौडेलले लुइँटेल र उहाँको टिमलाई बधाईसहित माला र दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

मनाङको तिलिचो ताल परिसरमा छायाङ्कन तथा निर्माण गरिएको उक्त भिडियोको गीत डा डिआर उपाध्यायले लेख्नुभएको हो भने सङ्गीत सिर्जना सन्तोष श्रेष्ठले गर्नुभएको हो । म्यूजिक भिडियोमा पुष्प खड्का तथा श्रद्धा क्षेत्रीको अभिनय रहेको छ । भिडियोलाई माइकल चन्दले निर्देशन गर्नुभएको हो ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले विश्व कीर्तिमान कायम गरी नेपालको प्रचारप्रसार गरेको भन्दै लुइँटेलको प्रसंशा गर्नुभयो । लुइँटेललगायतको टिमलाई यसअघि सन् २०२१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट गिनिज अफ वल्ड रेकर्ड प्राप्त गरेको थियो ।

लुइँटेलले यसअघि युरोपियन वल्र्ड रेकर्ड, अमेरिका बुक अफ रेकर्ड, युरोपियन रेकर्डस बुक, द ब्रिटिश वल्र्ड रेकर्ड, महात्मा गान्धी इन्टरनेशनल अवार्ड, ग्लोबल इन्टरनेशनल अवार्ड, डा एपिजे अब्दुल कलाम सेवा सम्मान २०२२ लगायतका सम्मान प्राप्त गरिसक्नुभएको छ ।

कार्यक्रम व्यवस्थापन सङ्घका उपाध्यक्षसमेत रहनुभएका लुइँटेलले भारत, दुबई, अजरवैजान, इजिप्ट, थाइल्याण्ड, कतारमा सम्मानित भइसक्नुभएको छ । एक दशकभन्दा लामो समयदेखि सञ्चारकर्ममा सक्रिय लुइँटेल भिडियोमा अभिनय हुँदै निर्माणमा सक्रिय हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.