राष्ट्रिय सभालाई प्रबुद्ध र विज्ञको सभा बनाऔं

सम्माननीय राष्ट्रपतिबाट मनोनित हुने तीन मध्ये मेरो पनि मनोनयन भएर राष्ट्रिय सभा सदस्य हुन पाएकोमा गौरवान्वित छु । राष्ट्रप्रमुखबाट मनोनीत भएकाले बोली, व्यवहार, आचरण, कार्यशैली सबै कुराहरु मर्यादित, सम्मानित, ग्राह्य र स्वीकार्य हुनुपर्छ भन्नेमा सचेत थिएँ । त्यही गरिमा कायम राख्ने गरी दुई वर्षको कार्यकाल पूरा गरेको छु । प्रबुद्ध व्यक्तिहरुको सभा भनेर चिनिने राष्ट्रिय सभामा उपस्थित हुन पाएकोमा गौरवको महसुस भएको छ ।

२०३८ सालमा छोटो अवधिका लागि राष्ट्रिय पञ्चायतको सचिवालय (हालको संघीय संसद् सचिलाय) मा दुई वर्ष शाखा अधिकृतका रुपमा काम गरेको थिएँ । त्यसपछिका राष्ट्रिय पञ्चायतका बजेट छलफलमा राष्ट्र बैंकका तर्फबाट सहभागी भएको थिएँ । २०४६ सालपछिको संसद्मा बाहिरबाट हेर्दा केही नमज्जा पनि लाग्यो । अपशब्द, हुलहुज्जत हुने खालको पनि थियो । तर २०६३ पछिको संविधान सभा र प्रतिनिधि सभा धेरै व्यवस्थित र मर्यादित भएको महसुस गरेको छु । राष्ट्रिय सभाका सदस्यहरु बढी जिम्मेवारीपूर्वक प्रस्तुत हुनुभएको छ । प्रतिनिधि सभाबाट आएका विधेयकहरुलाई परिमार्जन र परिष्कृत गर्न सहयोग गर्नुभएको छ । राष्ट्रिय सभा धेरै हिसाबले संयमित र व्यवस्थित छ । क्षणिक अवरोध बाहेक राष्ट्रिय सभा सधैं सौहार्दपूर्ण रुपमा सुचारु रह्यो ।

जनप्रतिनिधिहरुले संसद्मा आफ्ना मतदाताहरुको आवाज प्रस्तुत गर्नुहुन्छ । ती आवाजलाई कार्यान्वयन गर्ने सरकारले हो । दुई वर्ष मैले मन्त्रीको रुपमा कार्यान्वयन गर्ने निकायमा रहन पाएँ । त्यो जिम्मेवारी पहिलो दिनबाटै पूरा गर्न पाएकोमा खुसी महसुस भएको छ ।

लामो समयदेखि सहकार्य गरेका मित्रहरु सांसद हुनुहुन्छ । कोही सत्तापक्षमा, कोही विपक्षमा हुनुहुन्छ । कोही सँगै, कोही बेग्लै दलमा हुनुहुन्छ । नयाँनयाँ कोटमा नयाँनयाँ भाउभङ्गीमा देख्दा चाहिँ रमाइलो लाग्छ । मनमनै लाग्छ कि, हिजो त यसो भन्थ्यौ, आज त अर्कै भन्दैछौ । अर्को रोचक चाहिँ के लाग्छ भने म यो तथ्य होइन भन्छु साथीहरुले त्यही दोहो¥याउनु हुन्छ । उदाहरणका लागि कृषिको बजेट ३ प्रतिशत होइन भन्छु, साथीहरु त्यही भनिरहनुहुन्छ । मैले भनेको छु, ‘कृषिको बजेट हो त्यो । सिँचाइको, ऊर्जाको, कृषिको आधुनिकीकरणको अर्को ठाउँमा छ ।’

दुई वर्षको कार्यकाल आफैँमा छोटो होइन । यही बीचमा राज्य संरचनामा परिवर्तन भएको छ, वित्तीय संरचना चलेको छ, दर्जनौं कानून बनेका छन् । त्यसैले मलाई छोटो समयमा नै कार्यकाल बित्यो भन्ने लागेको छैन । मन्त्रीको रुपमा दुई वर्ष मैले अधिकतम काम गरेको जस्तो लाग्छ ।

अन्त्यमा एउटा राष्ट्रिय बहसको रुपमा रहेको विषय राख्न चाहन्छु । पहिला प्रतिनिधि सभामा प्रत्यक्ष चुनिएर आउने भएकाले राष्ट्रिय सभालाई समावेशी बनाउने कुरा हुन्थ्यो । अहिले प्रतिनिधि सभा नै समावेशी छ । त्यसैले राष्ट्रिय सभा प्रबुद्ध, विज्ञहरुको सभा बनाउनुपर्छ कि ! प्रतिनिधि सभाका कमीकमजोरी भएमा त्यसलाई सच्याउन सक्ने राष्ट्रिय सभा हुनुपर्छ कि भन्ने लागेको छ ।
राष्ट्रिय सभाका दुई वर्ष पुस्तकबाट

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.