रामेछापमा जताततै डढेलो

रामेछाप- केहि दिनयतादेखि रामेछाप जिल्लाका विभिन्न जंगलहरुमा जताततै डढेलो लागेको छ । डढेलोका कारण करोडौंको क्षति भएको छ ।

गोठालाहरुले जंगलमा घाँस पलाउने आशामा जथाभावी आगो लगाइदिन थालेपछि जंगलको आगो बस्तिमा पुग्दा ५० भन्दा बढी घरगोठहरु जलेर नष्ट भएका छन् । गोठमा रहेका २ सय भन्दा बढी पशु तथा पंक्षिहरु जलेर मरेका छन् ।

डढेलो कै कारण दुई जनाको ज्यान गएको छ । स्थानिय उपभोक्ताहरुले बर्षौं देखि जोगाएर राखेको जंगलहरु क्षणभरमा नष्ट भएका छन् । डडेलोका कारण जंगली जनावरको मृत्यु हुनुको साथै बहुमुल्य जडिबुटीको पनि सखाप भएको छ । केहि दिन अगाडिसम्म हरियाली देखिने जंगलहरु अहिले डढेर काला देखिन थालेका छन् ।

गर्मी मौसम संगसंगै बर्षौंदेखि उपभोक्ताहरुले संरक्षण गरेर राखेको सामुदायिक तथा अन्य वनहरुलाई क्षणभरमै आगोले सखाप पारेपछि उपभोक्ताहरु निराश हुन थालेका छन् । डडेलोका कारण जिल्लाका धेरै जंगलहरु सखाप भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

डढेलो नियन्त्रण्का लागि प्रहरी परिचालन गरिएको भएपनि सम्भव नभएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । जंगलका बहुमुल्य काठका अतिरिक्त डढेलोका कारण जंगली जनावरहरु स्याल, मृग, बाघ खरायो लगायतका जीवजन्तुको पनि ठुलो क्षति भएको वन उपभोक्ताहरु बताउँछन् । वनमा आगो लागेपछि जंगली जनावरहरु गाउँतिर पस्ने गरेको स्थानीय बासिन्दाहरु बताउँछन् ।

जंगलहरुमा आगो लागेको देख्ने बित्तिक्कै वन उपभोक्ताहरु सबै अग्नि नियन्त्रणका लागी जंगलमा पुग्ने गर्दछन् । तर स्थानिय उपभोक्ताको प्रयासले आगो नियन्त्रण हुन नसकेपछि आगो फैँलदै गएर जंगल सखाप पार्ने गरेको मन्थली नगरपालिका वडा नं १ का ध्रुवप्रसाद सुवेदीले बताउनुभयो ।

ठुलो वेगमा चलेको हावा तथा वनमा रहेका सल्लाका पात र त्यसको खोटोका कारण समयमा नै उपभोक्ताहरुले आगो नियन्त्रण गर्न नसक्ने उहाँ बताउनुहुन्छ । डढेलोका कारण जिल्लाका रामेछाप, मन्थली, पकरबास, भटौली, गोठगाउँ, रामपुर, फुलासी, सुकाजोर, हिमगंगा, गेलु, चनखु, फुलासी, लगायतका गाउँहरु बढी प्रभाबित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.