हेटौँडा सिमेन्ट उद्योगका अवकाश प्राप्त कर्मचारी आन्दोलनमा

मकवानपुर- सेवाबाट अवकाश प्राप्त गरेका हेटौंडा सिमेन्ट उद्योगका कर्मचारी आन्दोलित बनेका छन् । अवकाश पाएको दुई वर्ष बित्दा समेत उपदान रकम नपाएपछि उद्योगका पूर्वकर्मचारी उद्योगको मुल गेटमै धर्नामा बसेका हुन् ।

अवकाश पाएको ३५ दिनभित्र उपदान र औषधि उपचार खर्च रकम भुक्तानी पाउनुपर्ने कानूनी ब्यवस्था भएपनि उद्योग प्रशासनले उपदान रकम भुक्तानी दिन वेवास्ता गरेको अवकाश प्राप्त कर्मचारीहरुको गुनासो छ ।

उद्योगले २८ जना कर्मचारीको उपदान र औषधि उपचार खर्चवापत बापत भुक्तानी गर्नुपर्ने १८ करोड रुपैयाँ उपलब्ध गराउन सकेको छैन । कर्मचारीको सञ्चयकोषको रकम समेत उद्योग सञ्चालनका लागि खर्च गरिएको हो ।

उद्योगले घाटा ब्यवस्थापन गरी पुनः कर्मचारीको सञ्चयकोष रकम फिर्ता गर्नुपर्नेमा उद्योग निरन्तर घाटामा सञ्चालन हुँदा कर्मचारी मारमा परेका छन् । श्रम गर्ने उमेरमा उद्योगमा पसिना बगाएका कर्मचारीलाई घर जानेबेलामा उद्योग प्रशासनले उपदान रकम भुक्तानी दिन सकेको छैन ।

अबकाश प्राप्त कर्मचारीहरुले गत चैत १५ गतेबाट बिहान ९ बजेदेखि १२ बजेसम्म हातमा कालो पट्टी बाँधेर नियमित धर्ना दिंदै आएका छन् । वैशाख १५ गतेसम्म पनि माग पूरा नभए अर्को चरणको आन्दोलन गर्ने अवकास प्राप्त पिडित कर्मचारीसंघर्ष समितिका संयोजक एकाबहादुर डंगोलले बताउनुभयो ।

अवकाश लिएकामध्ये हेटौंडा-१३ पदमपोखरीका निङ्मा दोर्जे लामाको मृत्यु भइसकेको छ । उनका छोरा छेवाङ सिन्तान लामा आन्दोलनमा सहभागी छन् । प्रोस्टेड क्यान्सरले थलिनुभएका अवकास प्राप्त कर्मचारी बौहुरी चौधरीले दश-दश दिनमा फेर्नुपर्ने युरो ब्याग किन्ने पैसा समेत आफूसँग नभएको गुनासो गर्नुभयो ।

पूर्वकर्मचारीले यसअघि गत पुसमा पनि धर्ना दिएका थिए । पुस २५ गते उद्योग प्रशासन र संघर्ष समितीबीच वार्ता भएको थियो । २०८० असार मसान्तसम्म सबै अवकास प्राप्त कर्मचारीलाई रोलक्रम अनुसार उपदान रकम दिइसक्नेगरी उद्योग प्रशासनले सहमति गरेको थियो । तर सहमती कार्यान्वयन भएको छैन ।

उद्योगले सहमती गर्ने तर कार्यान्वयन नगर्ने गरेर कर्मचारीलाई पीडामाथि पीडा थपेको उनीहरुको गुनासो छ । २०७९ श्रावणदेखि अवकास पाएका तेस्रोदेखि नवौं तहसम्मका कर्मचारीको रकम उद्योगले भुक्तानी दिन बाँकी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.