रोल्पाका पहिलो कम्युनिष्ट सदस्य बर्मन बुढाको निधन

अध्यक्ष दाहालद्वारा दु:ख व्यक्त

रोल्पा- रोल्पाका पहिलो कम्युनिष्ट सदस्य पूर्वसांसद बर्मन बुढाको आज बिहान ९० वर्षको उमेरमा निधन भएको छ । उहाँको आज बिहान ४:३० बजे ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँकी छोरी विजया बुढाले जानकारी दिनुभयो ।

उहाँलाई आन्द्राको क्यान्सर भएको एक वर्षअघि रोग पत्ता लागेपछि काठमाडौँमा बसेर उपचार गराइरहनुभएको थियो । केही दिनअघि रोगले च्यापेपछि थप उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएकामा आज बिहान निधन भएको छोरी विजयाले जानकारी दिनुभयो ।

स्व बुढा विसं २०४८ को संसदीय निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं १ बाट तत्कालीन संयुक्त जनमोर्चाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । रोल्पाको थवाङ घर भएका बुढालाई रोल्पाको कम्युनिष्ट पार्टीको संस्थापक मानिन्छ । लामो समय मन्त्री रहेका राप्रपा नेता बालाराम घर्तीमगरलाई हराउँदै विसं २०४८ को संसदीय निर्वाचनमा पहिलोपटक बुढा सांसद निर्वाचित हुनुभएको थियो । यसअघि उहाँ थवाङको मुखिया, प्रधानपञ्चको रूपमा लामो समय राजनीतिमा क्रियाशील रहनुभएको थियो ।

प्रतिनिधिसभा बैठकमा थवाङको स्थानीय भेषवूषामा कछाड लगाएर उपस्थित भएर चर्चामा रहनुभएका स्व बुढाको विसं २०५२ को सशस्त्र युद्धपछि भने राजनीतिमा क्रियाशीलता कम हुँदै गएको थियो । कठिन परिस्थतिमा समेत रोल्पामा कम्युनिष्ट पार्टी निर्माण गरेको भन्दै रोल्पामा नेता बुढालाई आदर्श मान्ने गर्दछन् । उहाँ दुई वर्षअघि राष्ट्रका लागि योगदान गरेको भन्दै राष्ट्रपतिबाट विभूषितसमेत हुनुभएको थियो ।

अध्यक्ष दाहालद्वारा दु:ख व्यक्त
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बुढाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ ।

‘नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा कमरेड बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ । सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा उहाँ जहिले पनि अग्रमोर्चामा रहनुभयो,’ शोक बक्तव्यमा भनिएको छ, ‘उहाँको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.