कोरोनाविरुद्ध सरकारको कदमप्रति डब्लुएचओ सन्तुष्ट

काठमाडौं– कोरोना भाइरस (कोभिड १९)विरुद्ध सरकारले चालेको कदमप्रति विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधिले सन्तुष्टि जनाउनुभएको छ ।

गोरखापत्र दैनिक र दी राइजिङ नेपाललाई बिहीबार दिएको अन्तर्वार्तामा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डेलरले सरकारका कतिपय कदमले नेपालमा कोरोना महामारी रोक्न सहज भएको टिप्पणी गर्नुभएको छ । ‘कैयौँ देशमा सङ्क्रमण तीव्र देखिन्छ । हामीले नेपालमा पनि त्यही देखिरहेका छौँ तर नेपालले जसरी सङ्कटको सामना गरिरहेको छ, मलाई लाग्छ– नेपालले राम्रो गरिरहेको छ,’ उहाँले भन्नुभएको छ, ‘सरकारले निकै छिटो बन्दाबन्दी घोषणा गर्‍यो, भारतबाट मानिसले नेपाल प्रवेश गर्न थालेपछि तत्काल उनीहरूलाई क्वारेन्टाइनमा राख्यो ।’

नेपालमा कोरोना महामारीको अवस्था विश्वका अन्य मुलुकको भन्दा फरक रहेको उहाँको भनाइ छ । ‘सङ्क्रमितको सङ्ख्या वृद्धि भएर फेरि घट्न थालेको छ । नेपालमा सङ्क्रमितमध्ये ठूलो सङ्ख्या भारतबाट फर्किएकाहरूको छ । निकै सानो सङ्ख्यामा मात्र ट्रान्समिसन (फैलिएको) देखिएको छ,’ उहाँको भनाइ छ, ‘यहाँ समुदायगत रूपमा अहिलेसम्म त्यत्रो ठूलो सङ्क्रमण फैलिएको छैन ।’

डा. भ्यान्डेलरले सङ्क्रमित बढ्नुका कारण पनि भारतबाट फर्किएकाहरूको सङ्ख्याकै कारण रहेको दाबी गर्नुभएको छ । ‘जति भारतबाट फर्किनेको सङ्ख्या छ, त्यति नै सङ्क्रमितको बिन्दु माथि पुगेको छ,’ उहाँको भनाइ छ ।

विश्वव्यापी अनुभवमा कोभिडले युवालाई कम प्रभाव पारे पनि नेपालमा त्योभन्दा फरक रहेको डा. भ्यान्डेलरले बताउनुभयो । ‘युवामा कि त लक्षण नै देखिँदैन देखिए पनि निकै कम देखिन्छ र तिनीहरूको मृत्यु हुँदैन । त्यसैले नेपालमा नेपालको केस गैरलक्षणयुक्त छ र मृत्यु निकै कम छ,’ उहाँले भन्नुभयो ।

अहिलेसम्म समुदायगत रूपमा सङ्क्रमण फैलिएको नदेखिुनमा चाहिँ बन्दाबन्दी र क्वारेन्टाइनलाई धन्यवाद भन्नैपर्ने उहाँले बताउनुभयो । नेपालमा पुनः संक्रमण फैलन सक्ने भन्दै डा. भ्यान्डेलरले सम्भवतः नेपालमा पुनः नयाँ बन्दाबन्दी वा स्थानीयस्तरको बन्दाबन्दी आवश्यक पर्नेतर्फ पनि पूर्वानुमान गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.