दमौली–डुम्रे सडकखण्डमा सवारी प्रवेशमा रोक

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत दमौली डुम्रे सडक खण्डमा आज सबै सवारी प्रवेशमा रोक लगाइएको छ । शुक्रबार र शनिबार ठूला सवारीबाहेक साना सवारीलाई प्रवेशमा अनुमति दिने जिल्ला प्रशासनको निर्णय भए पनि पुनः समस्या आएकाले सबै सवारी प्रवेशमा रोक लगाइएको हो ।

वैकल्पिक मार्गमा ग्राबेल राखी सवारी सञ्चालनमा ल्याएको भए पनि ग्राबेल कम प्रयोग गरेका कारण समस्या आएकाले सबै सवारीलाई आज एक दिन रोक्नुपरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।

वैकल्पिक मार्गमा साना सवारी साधनको चापले पनि समस्या आयो । उहाँले भन्नुभयो, “त्यस सडकलाई आज दिनभरमा मजबुत बनाएर मात्रै भोलिदेखि सवारी सञ्चालनमा ल्याइने छ ।” उहाँका अनुसार एम्बुलेन्सलगायतका अत्यावश्याक सवारीलाई भने आवतजावतको लागि व्यवस्था मिलाइएको छ ।

अविरल वर्षापछि बन्दीपुर गाउँपालिका–१ स्थित नाहालामा सडक नै भाँसिएर पहिरो गएपछि वैकल्पिक मार्ग निर्माण गरिएको हो । उक्त मार्गमा ग्राबेल नगरिँदा सवारी फसेर अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले ठूला सवारीलाई दुई दिन प्रवेशमा रोक लगाएको थियो ।

यही साउन ४ र ५ गते पनि उक्त राजमार्गको ठाउँठाउँमा पहिरो गएर अवरुद्ध भएपछि पाँच वटा डोजर, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको प्रयासले एक दिनमै राजमार्ग सञ्चालनमा ल्याइएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.