राजधानीमा करिब तीन हजार छाडा गाई बाच्छा, स्थानीय सरकार मौन

काठमाडौं- संविधानले राष्ट्रिय जनावर भनी परिभाषित गरेको गाई बाच्छा राजधानीका सडक, नदी किनार एवं मठमन्दिरमा करिब तीन हजार छाडा छाडिएका छन् ।

गाई पाल्नेले बाच्छी जन्मिए राख्ने, बाच्छा जन्मिए दुई तीन महिना नबित्दै सडक, मठमन्दिर एवं नदी किनारमा लगी छोड्ने क्रम राजधानीमा बढ्न थालेको छ । गाईका बाच्छा खेत बारी जोत्ने काममा लगाउने गरिएकामा ट्याक्टरलगायत आधुनिक यन्त्र भित्रिएसँगै यसरी सडकमा छाडा छोड्न थालिएको हो । गाई पनि बुढो भएर नब्याउने भएपछि यसरी नै छोडिन्छ ।

कागेश्वरी मनोहरा नगरपालिका–४ स्थित ब्रम्हखेलमा घाइते अवस्थामा छोडिएका चार वटा बाच्छाको तस्बीरसहित अवस्थाका बारेमा वडाध्यक्ष भाइकाजी अधिकारीलाई जानकारी गराउँदा हाम्रो काम होइन भन्ने जवाफ दिएको नागरिकस्तरबाट शुरु भएको छाडा गाई बाच्छा संरक्षण अभियानका अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

यस विषयमा प्रतिक्रियाका लागि अध्यक्ष अधिकारीसँग सम्पर्क गर्दा उहाँले फोन उठाउनुभएन । यस विषयमा जानकारी गराउन नगरप्रमुख कृष्णहरि थापालाई पटकपटक फोन सम्पर्क गर्दा पनि नउठेको अभियानकर्मीको गुनासो छ ।

सरोकार भएका अन्य निकायलाई पनि ती बाच्छाको उद्धार गर्न आग्रह गरेकामा कसैले जिम्मेवारी लिएनन् । नगर प्रमुख थापा भने यस विषयमा अहिलेसम्म आफूलाई कसैले फोनबाट जानकारी नगराएको बताउनुहुन्छ ।

छाडा गाई बाच्छा दिउँसो जम्मा पारेर राति छोडेको हो कि भन्ने गुनासो पनि स्थानीयवासीबाट आउन थालेको नगरपालिकाले जनाएको छ । अन्यत्रका गाई बाच्छा पनि जम्मा गरेर यहाँ अव्यवस्थित रुपमा छाडियो भने स्थानीयवासीको पनि बिरोध हुनेतर्फ सचेत हुन पनि नगर प्रमुख थापाले अनुरोध गर्नुभएको छ ।

गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र झण्डै ६० भन्दा ज्यादा असहाय गाई बाच्छा शोक, भोक, प्यास र रोगले ग्रसित अवस्थामा भौँतारिएको अभियानले जनाएको छ । सम्बन्धित वडाका अध्यक्ष तथा जिम्मेवार अधिकारीलाई कमजोर र साना ती अबोध बाच्छाको उद्धार गरी विमानस्थल नजिकको आश्रयस्थलसम्म ल्याइदिन अभियानले आह्वान गरेको छ ।

अभियानले गौशाला क्षेत्रबाट सडक दुर्घटनामा घाइते एक वयस्क साँढेको उद्धार गरेको छ । आश्रयस्थलमा घाइते साँढेको उपचार भइरहेको छ । प्राणीमाथि हुने अन्याय र अत्याचारले सीमा नाघ्दा स्थानीय सरकार र चेतनशील मानिस यसको ब्यवस्थापनमा सक्रिय हुनु जरुरी रहेको अभियानकर्मीको माग छ ।

उपत्यकाभित्र मात्र तीन हजार गाई बाच्छा दयनीय अवस्थामा खुल्ला आकाशमुनि जीवन गुजारा गर्न बाध्य छन् । दैनिक २० भन्दा धेरै यी अबोध प्राणीले खान नपाएर, कुकुरको टोकाईबाट र सडक दुर्घटनामा जीवन गुमाएको अनुमान गरिन्छ ।- (रासस)

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.