उपत्यका भित्रने पूर्वी-नाका साँगामा यात्रुको स्वाब सङ्कलन

काठमाडौं- लकडाउनको अन्त्यपछि मध्यपहाडी क्षेत्रबाट विभिन्न राजमार्ग हुँदै काठमाडौँ उपत्यका प्रवेशको पूर्वी नाका काभ्रेपलाञ्चोकको साँगामा यात्रुको स्वाब सङ्कलन थालिएको छ । विशेषगरी पूर्वी तराई क्षेत्रबाट बीपी राजमार्ग लगायत अन्य मार्ग हुँदै काठमाडौँ उपत्यका प्रवेश गर्ने सवारी साधनका यात्रुको स्वाब सङ्कलन गर्न थालिएको हो ।

कारोना सङ्क्रमण थप फैलन नदिने उद्देश्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञसहितको टोलीले बनेपा नगरपालिकास्थित साँगामा यात्रुको स्वाब सङ्कलन गर्न थालेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका सदस्य-सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो ।

उहाँका अनुसार लकडाउनको अन्त्यपछि कारोनाको सङ्क्रमण दर पत्ता लगाई आएको विवरणले सरकारलाई थप रणनीति बनाउन मद्दत पुग्नेछ । स्वाब सङ्कलनअन्तर्गत यस नाकाबाट उपत्यका भित्रने सबै जिल्लाका यात्रु समेटिनेछ ।

साँगा नाकाबाट करिब चार हजार यात्रुको स्वाब सङ्कलन गरिने योजना बनाइएको छ । टोलीका लागि बनेपा स्वास्थ्य शाखाले टेन्ट व्यवस्थापन गरेको छ भने दैनिक २-३ स्वास्थ्यकर्मी खटाएको छ ।

टोलीले नाकामा प्रत्यक्ष रुपमा खट्ने सुरक्षाकर्मी, कर्मचारीको पनि स्वाब सङ्कलन गरिने जनाएको छ । केन्द्रले काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाकाहरू साँगासहित नागढुङ्गा र फर्पिङबाट समेत गरी १० हजार यात्रुको पोलिमरेज चेन्ज रियाक्सन (पिसीआर) परीक्षण गर्ने योजना बनाएको छ । यात्रुको स्वाब सङ्कलन कार्य आउने बिहीबारसम्म सञ्चालन हुने जनाइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.