राष्ट्रिय संकल्प पूरा गर्न युवा

सन्दर्भ : अन्तर्राष्ट्रिय युवा दिवस

अन्तर्राष्ट्रिय युवा दिवस युवाहरुको विशेष पर्व हो । यस दिवसमा विश्वका सबै देशहरुलाई युवाका मुद्दा र सरोकारका विषयलाई सम्बोधन गर्न र आफ्ना सबै प्रयासहरु यसतर्फ केन्द्रित गर्नका लागि बहस पैरवी र ध्यानाकर्षण गराइन्छ । यस पर्वमा युवाहररुको प्रतिभा प्रस्फुटन र प्रोत्साहन गरिनुका साथै युवाहरुले स्वयमसेवकीय रुपमा समाज र राज्यलाई योगदन पुर्याउने अभियान पनि सञ्चालन गरिन्छ । संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका सबै देशले प्रत्येक वर्ष अगष्ट १२ तारिखमा विभिन्न युवालक्षित रचनात्मक कार्यक्रमको आयोजना गरी यो दिवस मनाउँछन् । यस दिवस युवाहरुका विभिन्न सिर्जनात्मक गतिविधिहरु¸ स्वयमसेवकीय अभियानहरु युवाका सम्भावना¸ अवसर¸ सफलताका कथाहरु शेयर गर्ने र प्रतिभाशाली युवाहरुलाई दिने प्लेटफर्म पनि हो ।

नेपाली युवाको वर्तमान अवस्था
 नेपालमा युवाको जनसंख्या १ करोड ६ लाख ८९ हजार ८ सय ४२ (४०.३५ प्रतिशत) रहेको छ (राष्ट्रिय जनगणना २०६८ बमोजिम)

 वार्षिक रुपमा ३¸२३¸००० जना युवहरु वैदेशिक रोजगारीका लागि विदेशिन्छन् । वैदेशिक रोजगारमा जानेमध्ये ७४ प्रतिशत अदक्ष¸ २४ प्रतिशत अर्धदक्ष र २ प्रतिशत मात्र दक्ष रहेका छन् ।

 देशको राष्ट्रिय अर्थतन्त्रको करिब २९ प्रतिशत हिस्सा रेमिटेन्सबाट धानिएको अवस्था छ ।

 युवा साक्षरता ७१ प्रतिशत रहेको

 युवा स्वरोजगारको अवस्था ५८.८ प्रतिशत रहेको

 कृषिमा संलग्न युवा ५०.५ प्रतिशत

 बेरोजगार स्नातक युवा २६.१ प्रतिशत

 प्रतिवर्ष ५ लाख १५ हजार युवा श्रम बजारमा युवा प्रवेश गर्छन् ।
स्रोत: युथभिजन २०२५ तथा दशवर्षे रणनीतिक योजना

युवा विकासका लागि नेपाल सरकारका प्रयासहरु
 नेपालको संविधानमा युवा विकास र सहभागिताको सुनिश्चितता गरिएको

 नेपालका प्रत्येक आवधिक योजनामा युवालाई सम्बोधन गरिएको

 वार्षिक नीति¸ कार्यक्रम र बजेटमा युवालाई सम्बोधन गर्ने गरिएको

 युवा विकासका लागि नीतिगत दस्ताबेज राष्ट्रिय युवा नीति २०७२ र युथभिजन २०२५ तथा दशवर्षे रणनीतिक योजना जारी गरी कार्यान्वयनमा ल्याइएको

 वि.सं. २०६५ सालमा अलग्गै युवा तथा खेलकुद मन्त्रालयको स्थापना गरिएको ।

 युवा विकासका लागि वि.सं. २०७२ सालमा स्वायत्त सरकारी निकायको रुपमा राष्ट्रिय युवा परिषदको स्थापना गरी युवालक्षित कार्यक्रम कार्यान्वयन गरिएको ।

 प्रदेश र स्थानीय तहमा युवा विकासका संचरना स्थापित / हाल संघीय ढाँचामा पुनसंगठित हुने अवस्थामा रहेको ।

 वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा युवालक्षित कार्यक्रमहरुको घोषणा गरिएको ।

 आवधिक निर्वाचनमा स्थानीय¸ प्रदेश र संघीय संसदमा युवाहरु ठूलो संख्यामा निर्वाचित भएको अवस्था (स्थानीय तहमामा ३९.६४ प्रतिशत¸ प्रदेश तहमा २३ प्रतिशत र संघीय तहमा १३ प्रतिशत युवा निर्वाचित) यसबाट राज्यका नीति निर्माण तहमा युवाको पहुँच र सहभागिता उल्लेख्य रुपमा बढेको ।

 हालसालै घोषित आ.व. २०७७/७८ को वार्षिक बजेटमा संघीय र प्रदेश सरकारबाट रु. ७६ अर्ब भन्दा बढी बजेट बराबरका युवालक्षित कार्यक्रमको घोषणा गरिएको । त्यसैगरी स्थानीय सरकारहरुबाट समेत युवाको व्यवसायिक सीप विकास र स्वरोजगारका विभिन्न कार्यक्रमहरु घोषणा भएका छन् ।

 पछिल्लो अवस्थामा बाध्यतावस विदेशिने युवाको संख्या क्रमश: घट्दै गइरहेको अवस्था छ । नेपाल सरकारका विभिन्न युवालक्षित कार्यक्रमहरुका कारण युवाहरुमा स्वदेशमा नै संभावना र अवसर देखी स्वरोजगार तर्फ लाग्ने वातावरण क्रमश: बन्दै गएको छ ।

 युवा विकासका क्षेत्रमा नेपालले चालेका कदमहरुका कारण विश्व युवा विकास सूचकाङ्कमा नेपालको स्तरवृद्धि भएको छ । सन् २०१० मा नेपाल विश्व युवा विकास सुचकाङ्कमा विश्वमा १४५ औं स्थानमा रहेकोमा ६ वर्ष पछि सन् २०१६ मा ६८ देशलाई उछिनेर ७७ औं स्थानमा आउन सफल भएको छ । यो समस्त नेपाली युवाका लागि निकै सुखद विषय पनि हो । हामीले गर्नुपर्ने काम धेरै बाँकी नै छन् तर हाम्रो गन्तव्य सही छ भन्ने कुरा यो कुराले पनि पुष्टि गर्दछ ।

अन्तर्राष्ट्रिय युवा दिवस र यसको इतिहास
 युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउने निर्णय गर्‍यो ।

 यो घोषणासँगै युवासम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरी सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रमहरू हुँदै आएका छन् ।

 अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय युवा परिषदको संयुक्त आयोजनामा नेपालका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाहरुको सहकार्यमा युवा र्‍याली,¸ अन्तरक्रिया, रक्तदान कार्यक्रम, नाटक, सरसफाइ, नीति सम्वाद, साँस्कृतिक कार्यक्रम, वृक्षरोपण, वक्तृत्वकला प्रतियोगिता¸ युवा प्रतिभा तथा उद्यमी सम्मान कार्यक्रम जस्ता युवालक्षित कार्यक्रमहरू हुँदै आएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको उद्देश्य

 अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको मूल उद्देश्य युवाका मुद्दाका पक्षमा आवाज मुखरित गर्नु हो । सबैको ध्यान युवा विकास तर्फ आकर्षित गर्नु हो ।

 यसका साथै नेपालको संविधानमा उल्लेखित युवा संग सम्बन्धित व्यवस्थालाई युवाको पक्षमा कार्यान्वयन गर्नु¸ राष्ट्रिय युवा नीति २०७२, युथ भिजन २०२५ र राष्ट्रिय युवा परिषद् ऐन लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून र युवालक्षित मुद्दाहरू कार्यान्वयन गर्न स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आवाज बुलन्द गर्नु पनि हो ।

 साथै नेपालको प्राथमिकता प्राप्त क्षेत्रमा युवाको सहभागिता र युवालक्षित कार्यक्रमको माध्यमबाट व्यापक युवा परिचालन गर्ने अनुकूल वातावरण सिर्जना गर्नु पनि हो ।

नेपालमा युवा दिवसको सुरुवात
• विश्वका विभिन्न मुलुकमा सन् २००० देखि युवा दिवस मनाउन थालिएको भए पनि नेपालमा सन् २००४ देखि मात्र यसको शुरुआत भएको हो ।

• केही वर्ष अघिसम्म युवाका सवाल शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको एउटा शाखामा सीमित थियो भने अहिले आएर युवा नीति २०७२ र युथभिजन २०२५ तथा दशवर्षे रणनीतिक योजना तयार भई सोको प्रभवकारी कार्यान्वयनका लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषद् लगायतका संरचनाहरू स्थापना भई क्रियाशील रहेका छन् ।

• त्यसैले पनि अहिले युवा दिवसलाई युवा क्षेत्रमा व्यापक संरचनात्मक उपलब्धि भएको वर्षको रूपमा पनि मनाउन सकिन्छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले संयोजन गर्दै आएका युवा विकासका कार्यक्रमहरू राष्ट्रिय युवा परिषद् स्थापनासँगै युवा परिषद् मार्फत् हुने हुँदा सोही बमोजिम परिषद्कै समन्वयमा कार्यक्रमहरूको योजना तर्जुमा तथा कार्यान्वयन गरिदै आइएको छ । हाल समस्त नेपाली युवाहरुको पहिलो संपर्क विन्दु कार्यालय र अभिभावकीय निकायको रुपमा राष्ट्रिय युवा परिषद स्थापित भएको छ ।

अन्तराष्ट्रिय युवा दिवस २०२० को सन्दर्भ
• अन्तराष्ट्रिय युवा दिवस २०२० का सन्दर्भमा संयुक्त राष्ट्र संघले यस वर्षको नारा “Youth Engagement for Global Action” तय गरेको छ । यसलाई नेपालको सन्दर्भमा “विश्व अभियानका लागि युवा सहभागिता : रोजगारी पर्वर्द्धन र वातावरण संरक्षणमा युवा संलग्नता ” भनी परिभाषित गरेको छ । यो नारा अन्तर्राष्ट्रिय रुपमा मात्र हैन नेपालको सन्दर्भमा पनि अत्यन्त सान्दर्भिक र महत्वपूर्ण रहेको छ । यसले युथभिजन २०२५ र दिगो विकासको लक्ष्यलाई पनि सम्बोधन गरेको छ । यस नारालाई नेपालको सामाजिक साँस्कृतिक र आर्थिक गतिविधि लगायत राष्ट्रिय अभियानहरुमा युवाको सार्थक परिचालन गरी समृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय संकल्पलाई सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ ।

युवा दिवसको नाराको सार्थकता
• युवा भनेको सबैभन्दा उर्जाशील र गतिशिल उमेर समूह हो । युवाको सार्थक परिचालन बिना कुनै पनि अभियान सफल हुन सक्दैन । अत: कुनै पनि देशको सामाजिक साँस्कृतिक तथा आर्थिक गतिविधि र समृद्धिका लागि युवाको सहभागिता र नेतृत्व अपरिहार्य छ । कुनैपनि आर्थिक गतिविधि सञ्चालन गरी रोजगारी प्रवर्द्धन तथा वातावरण संरक्षणका लागि युवाको व्यापक परिचालन जरुरी छ । यसर्थ हरेक अभियानहरुमा युवाको सार्थक सहभागिता र परिचालनलाई यस दिवसले जोड दिएको छ । यो दिवसको नारा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि निकै सार्थक रहेको पाइन्छ ।

• यस वर्ष पनि नेपालमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने सन्दर्भमा माननीय युवा तथा खेलकुद मन्त्रीज्युको अध्यक्षतामा बसेको बैठकले २०१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।

• यस दिवसलाई केन्द्रमा मनाउने सन्दर्भमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्षज्युको संयोजकत्वमा ९ सदस्यीय सचिवालयको समेत गठन गरेको छ । सचिवालयले यहि २०७७ श्रावण २८ गते तदनुसार 12 August, 2020 का दिन सम्माननीय प्रधान्त्रीज्यूको प्रमुख आतिथ्यतामा यस दिवसको मूल समारोह आयोजना गरिएको छ । हालको कोरोना महामारीको संक्रमणको जोखिमका कारण यस समारोह भर्चुअल पद्धतिबाट Zoom Webinar मार्फत् सञ्चालन गर्ने निर्णय गरेको छ ।

-लेखक राष्ट्रिय युवा परिषदका सूचना अधिकारी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.