नेपाल चीन सम्बन्ध स्थापनाको ६५ औँ वर्ष, दुवै देशका राष्ट्रपतिद्वारा बधाई सन्देश आदानप्रदान

काठमाडौं- आज अगष्ट १ अर्थात् नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव । यसैअवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति सीले गत अक्टोबरमा गर्नुभएको नेपालको ऐतिहासिक राजकीय भ्रमण तथा त्यस अवसरमा दुवै देशले आपसी सम्बन्धलाई अझ उन्नत तुल्याउन विकास र समृद्धिका लागि चिरस्थायी मैत्रीयुक्त सहयोगको रणनीतिक साझेदारीको निर्णय गरेका स्मरण राष्ट्रपति भण्डारीले गर्नुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले गत अप्रिलमा आफूले गरेको चीनको राजकीय भ्रमण र त्यस बखत दुवै देशबीच भएका महत्वपूर्ण सम्झौता र समझदारीको पनि सम्झना गर्नुभएको छ ।

चीनले हासिल गरेको विकास र समृद्धिको प्रशंसा गर्दै राष्ट्रपतिले चीनको दुई शताब्दीको विकास लक्ष्य प्राप्तिमा सफलताको शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

उहाँले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट प्राप्त सहयोग र कोभिड–१९ महामारीविरुद्ध अत्यावश्क औषधि र उपकरणका साथै ज्ञान र अनुभव बाँडेकामा सराहना गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.