स्तनपान सप्ताहः स्वास्थ्यमन्त्रीद्वारा अस्पताल निरीक्षण

काठमाडौं- स्तनपान सप्ताहको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आइतबार काठमाडौंका दुई अस्पताल अनुगमन गर्नुभएको छ ।

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन २०४९ को कार्यान्वयनको अवस्थाका बारेमा मन्त्री ढकाल सहितको टोलीले काठमाडौंको केएमसी अस्पताल सिनामंगल र परोपकार प्रसुती गृह, थापाथलीको निरीक्षण अनुगमन गरेको हो ।

अनुगमनका क्रममा ऐनको प्रावधान विपरीतका कैफियतहरु नभेटिएको र अस्पताललाई स्तनपानमैत्री बनाउन अझ सुधार गर्नु पर्ने पक्षहरुका बारेमा अस्पताल प्रशासनलाई निर्देशन दिइएको स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिनुभयो । अनुगमन टोलिमा मन्त्री ढकालका अतिरिक्त परिवार कल्याण महाशाखाका निर्देशक डा. भिम सिंह तिंकरी, पोषण शाखा प्रमुख पराजुलीलगायतको उपस्थिति रहेको थियो ।

स्तनपान संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले संसारभर सन् १९९२ देखि हरेक वर्ष अगस्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाइन्छ । नेपालमा यस बर्ष “स्वस्थ र सुन्दर संसार : स्तनपान एकमात्र आधार” भन्ने मूल नाराका साथ साउन १७ गते देखि २३ गते सम्म विश्व स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरि मनाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.