कोभिडमा लापरवाही बढ्यो : अटेर गरे कैद

काठमाडौं- विश्वव्यापी महामारीरुपमा फैलिएको कोभिड-१९ को सङ्क्रमण विस्तार नहोस् भन्ने मनसायका साथ काठमाडौँ जिल्ला प्रशासन तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेविरुद्ध कडारुपमा प्रस्तुत हुन थालेको छ ।

तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग नगरी कोरोनालाई सामान्य ढङ्गले हेर्न थालिएकाले कारवाहीको दायरा फराकिलो बनाउन लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

सङ्क्रामक रोग ऐन, २०२० अनुसार राज्यको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । उक्त ऐनमा सरकारले खटाएका अधिकृतको काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा रु ६०० सम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यो अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ ।

आज मात्रै मुलुकभर २५९ जनाका कोभिड–१९ देखियो । त्यसमा उपत्यकाको मात्रै ६२ जना छन् । दैनिक जसो नै काठमाडौँमा सङ्क्रमण देखिन थालेको छ । उपत्यकाको नाका प्रवेश गर्नेहरुको परीक्षणमा बढी सङ्क्रमण देखिएको छ । अहिलेसम्म मुलुकमा भयावह भइसकेको छैन तर परीक्षणको नतिजाले जोखिम बढ्दै गएको स्थिति प्रष्ट छ ।

पछिल्लो समयमा मानिसको लापरवाही बढ्दो छ । मास्क नलगाई हिँड्ने जमात देखिन थालेको छ । काठमाडौँ प्रशासनले सुरक्षा मापदण्ड अपनाएको छ छैन भन्ने बारेमा नियमित अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा व्यवसाय सञ्चालकले मापदण्ड प्रयोग गरेको पाइएको छैन ।

नागरिक पनि कोरोना सकिएको जसरी खुलमखुला हिँडिरहेका छन् । सामान्य रुघाखोकी जसरी मानिसले कोभिड-१९ लाई हेल्चेक्र्याइँ गरेको पाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो । उहाँले अब प्रशासन चुप लागेर नबस्ने भन्दै मापदण्ड नमान्ने व्यावसायिक प्रतिष्ठान बन्द गराउने निष्कर्षमा पुगेको बताउनुभयो । अनुगमनमा भाटभटेनीले पनि मापदण्ड नमानेको पाइएको छ ।

सङ्क्रामक रोग ऐन, २०२० अनुसार नेपाल सरकारले मानिसमा उब्जेको वा फैलिएको वा फैलिने सम्भावना भएको कुनै सङ्क्रामक रोग नेपालभर वा त्यसको कुनै भागमा रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा त्यसको रोकथाम गर्न आवश्यक कारवाही गर्न सक्ने व्यवस्था छ ।

ऐनमा सर्वसाधारण जनता वा कुनै व्यक्तिको समूह उपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने उल्लेख छ । निर्मूल गर्न वा रोग रोकथाम गर्नको लागि आवश्यक व्यवस्था मिलाउन कुनै अधिकारीलाई मुकरर गरी आवश्यक अधिकार सुम्पन सक्ने व्यवस्था पनि छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.