हलेदोको तेल !

बजार छ उत्पादन पुग्दैन

लमजुङ-लमजुङको सुन्दरवजारमा सुगन्धित तेल प्रशोधनका लागि सञ्चालनमा ल्याइएको आदेय प्रशोधन केन्द्र कच्चा सामाग्रीका कारण संकटमा परेको छ । हलेदोबाट तेल निकाल्ने गरी स्थापना भएको यो उद्योग नेपालमा नै पहिलो हो । यस उद्योगले हलेदोलाई वास्पिकरण विधिबाट ताप दिई तेल उत्पादन गर्दछ ।

हलेदोबाट तेल उत्पादन गर्नका लागि पानी र दाउराको प्रयोग हुन्छ । पानी र दाउराको सहज आपूर्ति भएतापनि मुख्य कच्चा पदार्थ हलेदो नै नपाएका कारण यो उद्योग सकंटमा परेको हो ।

कच्चा सामग्री सरल र सुपथ मुल्यमा पाउने आशामा संचालनमा ल्याइएको यो उद्योगलाई आवश्यक मात्रामा हलेदोको आपूर्ति हुन सकेको छैन ।

जीविकोपार्जन, उद्यमशीलता विकास आदि क्षेत्रमा काम गर्दे आएको संस्था च्वाईस ह्युमेनेटीयन नेपालले बाझो जमिनको उपयोग गरी रोजगारी बढाउन सकिने र आयआर्जनको अवसर वृद्धि हुने सुझाव दिए पछि, यो उद्योगको स्थापना भएको आदेय उद्योगका संचालक शोभा पौडेल अधिकारी बताउनु हुन्छ । उहाँ, परम्परागत कृषिमा जनताको संलग्नता कम भएको अवस्थामा थोरै श्रम र मेहनतबाट गर्न सकिने हलेदो खेतीबाट गाँउघर बस्तीका बाँझा जमिनहरुमा पुनः हरियाली ल्याउन सकिने र रोजगार बिहिन मानिसहरुले हलेदो उत्पादनमा सम्लग्न हुने बिश्वासमा यो उद्योग स्थापना गरेको बताउनु हुन्छ ।

उत्पादनलाई बजारसँग जोड्दै गाऊँघरमा आयआर्जनमा सहयोग पुर्‍याउनु यस उद्योगको प्रमुख उद्देश्य भएको संचालक बताउँछन ।
२०७५ सालमा सम्म्पुर्ण प्रकृया पुर्‍याई स्थापना गरिएको उद्योगमा ७० लाख रुपैयाँ बरावरको लगानी भइसकेको छ । यो उद्योगमा बासिङ मेशिन, बोइलर मेशिन, डिस्टिलरी मेशिन, कटिङ मेशिनहरु प्रयोग गरी हलेदोबाट तेल उत्पादन गरिन्छ ।

नेपालमा अन्य ठाँउहरुमा विभिन्न किसिमका सुगन्धित तेल उत्पादन गर्ने उद्योग भएतापनि हलेदोबाट तेल उत्पादन गर्ने आदेय पहिलो उद्योग भएको कुरा प्राबिधिक सल्लाहाकार छवि काफ्लेले वताउनु भएको छ ।

बर्षभरि तेल उत्पादन गर्ने गरी कच्च पदार्थ प्राप्त भएको अवस्थामा यो उद्योगले ८ सय लिटर तेल उत्पादन गर्न सक्छ र ३०० टन हलेदोको खपत गर्न सक्छ । यसका लागि ५४ लाख रुपयाँको कच्चा पदार्थको आवश्यकता पर्दछ ।

यो उद्योगलाई नियमित संचालनका लागि हलेदो भण्डारण गर्नका लागि भविष्यमा एक चिस्यान केन्द्रको आवश्यकता रहेको उहाँको भनाइ थियो।
यो उद्योग पूर्ण क्षमतामा चल्न सकेको अवस्थामा आधुनिक कृषिका मार्फत धेरैलाई रोजगारी दिन सकिने र देशमा विकराल अवस्थामा रहेको बेरोजगारी समस्या केही हदसम्म न्यूनिकरण गर्नका लागि योगदान पुग्ने संचालकहरुको विश्वास छ ।

बाँदर र अरु जंगली जनावरले क्षति नपुर्‍याउने पहाडी भेगमा रहेका बाँझो जमिन हलेदो खेतीको लागि उपगुक्त रहेकोले यो उद्योग संचालन र प्रवर्दनमा राज्यले नै सहयोग गर्नु पर्ने कृषि विज्ञहरुको भनाई छ ।

लगानीको सुरक्षा गर्दै यस उद्योगलाई कच्चा सामग्रीको अभाव हुन नदिनु र पूर्ण क्षमतामा चल्न सक्ने बनाउनु यस उद्योगका लागि अहिलेको प्रमुख चुनौती रहेको छ ।
चर्चामा धेरै नआएको र सुन्दा पनि अचम्म र अपत्यारिलो लाग्ने यो उद्योग गत आर्थिक वर्षबाट सञ्चालनमा आएको हो । यहाँ २२ सय किलो कच्चा सामाग्री एकै पटक प्रयोग गर्न सकिने बोइलर मेशिन रहेको छ । १२ सय किलो हलेदो बाट ३ किलो तेल उत्पादन हुन्छ ।

नेपालीको भान्छामा प्रत्येक दिनको खानामा मसलाका रुपमा अनिवार्य प्रयोग हुने बेसार महत्वपूर्ण औषधीका रुपमा समेत लिइन्छ । काँचो बेसारबाट मात्र ४० भन्दा बढि रोग सन्चो हुने भनाई रहेको छ ।

हलेदोको तेल पनि विशेष गरी औषधीका लागि प्रयोग हुन्छ । पेट सम्बन्धि उपचार, ग्यास्ट्रिक, अल्सर, क्यान्सर र अन्यमा कस्मेटिक सामानमा प्रयोग हुने जानकारहरु बताउछन् ।

यसलाई सनलोसन, एन्टी रिङकल क्रिम लगायत थुप्रै कस्मेटिक सामानमा प्रयोग गर्ने गरिन्छ । आदेय उद्योग मार्फत उत्पादन भएको तेल ग्रिनभिजन प्रा‌‍ली काठमाण्डौलाई बिक्री गर्ने र उसले अमेरिकी कम्पनिहरुलाई उपलब्ध गराउने गरेको संचालक बताउँछन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.