दशैँलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्य पसल सञ्चालन हुने

काठमाडौं- दशैँलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी मङ्सिर ७ गतेसम्म पसल सञ्चालन गर्ने भएका हुन् ।

खाद्य कम्पनीले काठमाडौँ उपत्यकाका पाँच बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा रहेका बिक्री काउन्टरमा नै सुपथ मूल्य सञ्चालन गर्ने र सम्भाव्यताका आधारमा बाहिरका जिल्लामा समेत पसल सञ्चालन गरिने कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा दुई कम्पनीलाई काठमाडौँ उपत्यकामा पाँच-पाँच स्थानमा सुपथ मूल्यका पसल सञ्चालनको अनुमति दिइएको छ । सोही अनुमतिका आधारमा दुबै कम्पनीले बिक्री काउन्टरमा सुपथ मूल्य पसल सञ्चालनको तयारी गरिएको सुवेदीले जानकारी दिनुभयो ।

मन्त्रालयमा भएको छलफलमा दुबै कम्पनीले एक अर्काका सामग्रीको समेत बिक्री वितरण गर्न पाउने भएका छन् । साल्ट ट्रडिङको ललितपुर, सङ्लुगल, कोटेश्वर, भक्तपुर र बनेपामा बिक्री काउन्टर रहेका छन् । सोही स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने कर्पाेरेशनले जनाएको छ ।

तीन जिल्लाबाट खसीबोका तथा च्याङ्ग्रा ल्याइने

कम्पनीले दशैंका लागि तीन जिल्लाबाट खसीबोका तथा च्याङ्ग्रा खरिद गर्ने भएको छ । दाङ र मकवानपुरबाट एक हजार खसी तथा बोका र मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने निर्णय भएको कम्पनीले जनाएको छ ।

शुरुआती चरणमा उक्त स्थानबाट तीन हजार खसीबोका तथा च्याङ्ग्रा ल्याउने तयारी भए तापनि शुरुआती चरणमा दुई हजार मात्र ल्याइने भएको छ । गत वर्षको मागअनुसार तीन हजार ल्याइने तयारी भए तापनि यसवर्ष मागमा कमी आउने सम्भावना देखिएपछि दुई हजार मात्र ल्याउन लागिएको हो, माग बढ्यो भने आवश्यकताअनुसार पछि थप गर्ने गरी ल्याउन लागिएको सुवेदीले जानकारी दिनुभयो । थापाथली काउन्टरबाट घटस्थापनाको दुई दिन अघिदेखि खसीबोका बिक्री गरिने कम्पनीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.