पटक पटक ताकेता र दबाब दिँदा पनि पर्वत-बागलुङ सडकखण्ड निर्माणको काम अघि बढेन (भिडियो)

पर्वत- मध्यपहाडी लोकमार्गको पर्वत बागलुङ सडक खण्ड निर्माण कार्य अघि बढ्न नसक्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । समयावधि अघि नै काम सक्ने दाबी गरेको लामा कन्ट्रक्सनले निर्माण कार्यलाई अघि नबढाएपछि पर्वत र कास्कीको सिमा नयाँपुलदेखि मालढुंगासम्मको २३ किलोमिटर सडक निर्माणको काम अलपत्र परेको हो ।

कोरोना महामारीसँगै कामदारलाई फिर्ता पठाउने निर्णय भएपछि रोकिएको काम चैत्र महिना देखि नै अलपत्र परेको हो । ६ महिना भन्दा बढी लामो समयसम्म सडक निर्माण कार्य अघि नबढ्दा सडकमा अत्यावश्यक कामका लागि आवतजावत गर्ने सर्वसाधरणले कष्टकर यात्रा गर्न बाध्य भएका छन् ।

विभिन्न अधिकारकर्मीहरुले सडकमा सहज यातयातका लागि तत्काल काम शुरु गर्न जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएपनि असोज पहिलो साता सम्म सडकको काम अघि बढ्न सकेको छैन ।

मध्यपहाडी लोकमार्ग आयोजना र निर्माण पक्षलाई पटक पटक ताकेता र दबाब दिँदा पनि काम अघि बढाउन नसकेको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।

आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगासम्मको २३ किलोमिटर सडक स्तरोन्नतिको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको थियो । कम्पनीले ८३ करोड ९८ लाख रुपैयामा पर्वत खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको छ ।

कम्पनीले असार सम्ममा ९० प्रतिशत काम सक्ने लक्ष्यसहित काम गरेपनि अहिले सम्म ५० प्रतिशत जति काम भएको निर्माण कम्पनी लामा कन्ट्रक्सन प्रालिका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले जानकारी दिनुभयो । कोरोना महामारी र बर्षायामका कारण रोकिएको काम अब छिट्टै सञ्चालन गर्ने तयारी गरेको भूसालले बताउनुभयो ।

मध्यपहाडी लोकमार्गमा पर्ने पोखरा-बागलुङ्ग खण्डमा सडक बिस्तारका क्रममा बनेका खाल्डामा जमेको पानी र सडक स्तरोन्नतिका क्रममा चक्लाबन्दी गरेका स्थानहरुमा पहिरो गएपछि अहिले थप समस्या बनेको छ । बर्षा शुरुभएपछि धेरै ठाउँमा पहिरो झरेको छ भने कुश्मादेखि पातीचौर सम्म उच्च जोखिममा छ । समयमा नै स्तरोन्नति नगर्ने हो भने झनै ठूलो समस्या निम्तिने निश्चित छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.