कोरोनाको मारमा कुखुरापालन व्यवसाय, पलायन हुने अवस्थामा चितवनका व्यवसायी

चितवन- वर्षाको समय भएका कारण तरकारीको मूल्य आकाशिएको छ तर यहाँ मासुका लागि उत्पादित ब्वायलर कुखुरा भने तरकारीभन्दा पनि सस्तो मूल्यमा बिक्री गर्न किसान बाध्य भएका छन् ।

तरकारीको मूल्य प्रतिकेजी रु एक सयभन्दा बढी छ । दुई किलोभन्दा बढी तौलको ब्वायलर कुखुरा किसानले रु एक सयमा पनि बिक्री गर्न नसकेको गुनासो गरेका छन् ।

कोभिड-१९ सङ्क्रमणका कारण देशभरका उद्योग व्यवसाय प्रायः ठप्प छन् । धेरै क्षेत्र यसको मारमा परेको छ । राज्यले कृषि र पशुजन्य उत्पादन ओसारपसार र बिक्री-वितरणमा रोक नलगाएको भए पनि ब्वायलर कुखुरा भने बिक्री हुन सकेको छैन । ब्वायलर कुखुरा उचित मूल्यमा बिक्री नहुँदा चितवनका किसान चिन्तित छन् । उनीहरु लागत मूल्यभन्दा निकै सस्तोमा कुखुरा बेच्न बाध्य भएको गुनासो गर्छन् ।

भरतपुर महानगरपालिका-६ इन्द्रपुरीका किसान विष्णु ढकालले बेच्ने अवस्थामा पुगेका कुखुरा लिन आफ्नो फार्ममा व्यवसायी नआएको गुनासो गर्नुभयो । उहाँले कुखुरा पालेको ४५ दिन भयो तर एक सय रुपैयाँमा पनि बिक्री गर्न नसकिएको बताउनुभयो । आफ्नो गाउँका कतिपय किसानको ६० दिनसम्म पनि कुखुरा नउठेको उहाँको भनाइ छ । ४० देखि ४५ दिनमा कुखुरा बिक्री गर्ने उपयुक्त समय हो । यस्तै समस्या चितवनका अन्य कृषकहरुमा पनि रहेको छ ।

नेपाल कुखुरा पालक किसान सङ्घका केन्द्रीय अध्यक्ष झनक पौडेल ब्वायलर पालक किसान निकै मारमा परेको बताउनुहुन्छ । उहाँका अनुसार कोरोनाका कारण शुरुमा लगाइएको लकडाउन खुल्ने समयमा कुखुराको भाउ ह्वात्तै बढ्यो । उहाँले भन्नुभयो, “चल्ला सस्तो थियो । लकडाउनले घरमै बसिरहेको अवस्था भएकाले धेरै किसानले कुखुरा राखे । अहिले ब्वायलरको उत्पादन बढ्यो । पुनः जिल्ला जिल्लामा गरिएका निषेधाज्ञाले बजार ठप्प भयो । किसानको खोरबाट कुखुरा उठेनन्”, उहाँले भन्नुभयो ।

लकडाउन खुकुलो भएपछिको एक महिना जिउँदो ब्वायलर कुखुराको मूल्य प्रतिकेजी रु २६० सम्म पुगेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । मूल्य राम्रो देखेर कतिपय किसानले कुखुरा राखेका कारण अहिले उत्पादन धेरै भएको उहाँको बुझाइ छ ।

चितवनमा मात्रै सङ्घमा आबद्ध दुई हजार ब्वायलर कुखुरा पालक किसान छन् । “सामान्य किसानले थोरै लगानीमा ब्वायलर कुखरा पाल्छन्, उनीहरुलाई बजारको अवस्थाका बारेमा थाहा हुँदैन”, उहाँले भन्नुभयो, “मारमा पर्ने पनि उनीहरु नै हुन् ।” कुखुरा व्यवसायमा बिचौलियाको राज हुनु किसानमाथि उठ्न नसक्नुको प्रमुख कारण भएको उहाँको भनाइ छ । किसानको खोरमा सस्तोमा कुखुरा उठाएर व्यवसायीले स्टोर गरेर राखेको पौडेलले बताउनुभयो । कुखुराको भाउ र बजार नपाउनुमा ५० प्रतिशत कारण लकडाउन र अन्य बिचौलिया लगायतको कारण भएको उहाँले बताउनुभयो ।

काठमाडौँमा अहिले पनि प्रतिकेजी रु १८० सम्म जिउँदो कुखुरा बिक्री भइरहेको भन्दै उहाँले चितवनलागायत तराईका जिल्लामा प्रतिकिलो रु एक सय सम्ममा बिक्री हुन पनि गाह्रो भएको बताउनुभयो ।

सोह्र श्राद्ध शुरु भयो, फेरि मलमासको कुरा छ, दशैँमा पनि अवस्था यस्तै होला जस्तो छ । कुखुराको बजार के हुन्छ भन्ने नै अन्योल छ । कार्तिक नलागेसम्म
ब्वायलर कुखुराको मूल्यमा समस्या नै भइरहने उहाँको बुझाइ छ । चितवनका किसानले उत्पादन गरेको कुखुरा काठमाडौँ, वीरगञ्ज, बुटवल, पोखरालगायत बजारमा बिक्री हुन्छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.