तनहुँ जीप दुर्घटनामा दुई जनाको मृत्यु, छ जना घाइते

तनहुँ- तनहुँको ऋषिङ- १ खाल्टेमा खोलामा जीप खस्दा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् ।
व्यास ५ का व्यक्तिहरु चढेर चापाघाटबाट ऋषिङको खाल्टे जाँदै गरेको ग १ ज ७१२८ नम्बरको जीप सोमबार बिहान दिखोलामा खसेको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।
घटनामा घाइतेमध्ये व्यास ५ निवासी ५५ वर्षका राजकुमार श्रेष्ठ र चालक होम बहादुर श्रेष्ठको उपचारका क्रममा दमौली अस्पतालमा ज्यान गएको हो । घटनाका घाइतेमध्ये केहीको रत्नहरि र दमौली अस्पतालमा उपचार भइरहेको छ । केहीलाई उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको बताइएको छ ।
यसैगरि, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ६ मा पर्ने रुखबाडामा पनि आज जीप दुर्घटना भएको छ । लु १ ज ४२२९ नम्बरको को जीप दुर्घटना भएको छ । आज बिहान पाँच जना यात्रु बोकेर खदाङ्ग बजारबाट फुल्चिङ्गतर्फ जाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिनुभयो ।
घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ बस्ने बर्ष २४ का चालक रामबहादुर रोकाय,सोही ठाउँका बर्ष २५ का सवारी धनी नरबहादुर रोकाय, वडा नं ६ बस्ने लोकचन्द्र बिक, वडा नं ६ कै २६ बर्षीया हिरा बिक र २५ बर्षीया मिना पुन रहेको प्रजिअ सुनारले बताउनुभयो ।
चालक रामबहादुर रोकाय, नरलाल रोकाय र लोकचन्द्र बिकको हात र खुट्टा भाँचिनुका साथै छातीमा चोट लागेकाले अवस्था गम्भीर रहेको बताइएको छ । अन्य दुई जनाको अवस्था सामान्य छ । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पा लगिएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि जिल्ला बाहिर लैजान हेलिकप्टर झिकाउने पहल भइरहेको वडा नं ६ का अध्यक्ष धर्मजीत रोकायले जानकारी दिनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्