वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे

काठमाडौँ– विगत चार दिनदेखिको निरन्तर वर्षाद्ले गोकर्णेश्वर उत्तरगया पितृतीर्थ क्षेत्रमा सोह्र श्राद्ध गर्न आउनेहरू प्रभावित भएका छन् । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि सुरु भएको हो ।
आज प्रतिपदा तिथि श्राद्ध गरिँदैछ । विगतका वर्षमा सोह्र श्राद्धको पहिलो दिन यस क्षेत्रमा सयौँ मानिसले श्राद्ध गर्ने स्थानका लागि तोकिएको शुल्क तिरेर रसिद काट्ने गरेकामा यस वर्ष ६६ जनाले मात्र रसिद काटेका गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्ष जयराम महतले  जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ श्राद्ध गर्नेलाई समितिले सरसफाइका लागि रु २०० शुल्क लिने गरेको छ ।
विगत चार दिनदेखिको निरन्तर वर्षाले श्राद्ध गर्न आउनेहरू प्रभावित भएका उहाँले बताउनुभयो । गोकर्णेश्वर मन्दिरभन्दा ५०० मिटरमाथिको दूरीमा रहेको कान्तिभैरव उत्तरगया क्षेत्रमा भने बिहानदेखि छ जनाले मात्र श्राद्ध गर्न रसिद काटेका कान्तिभैरव मन्दिर व्यवस्थापन समितिका कर्मचारी कोपिला थापाले जानकारी दिनुभयो । पानी नपरेका बेला भने यहाँ पनि दैनिक १०० जनाभन्दा धेरै मानिस श्राद्ध गर्नकै लागि आउने गरेका थिए ।
राजधानीमा डेरा लिएर बसेकाहरू गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा आएर श्राद्ध गर्दछन् । डेरामा श्राद्ध गर्नुहुँदैन भन्ने मान्यता राख्नेहरू र डेरामा ठाउँ अभाव हुनेहरूले यहाँ आएर श्राद्ध गर्दछन् । धर्मशास्त्रविद् तोयराज नेपालले भने डेरामा ठाउँ भएसम्म श्राद्ध गर्न शास्त्रीय वचनका आधारमा कुनै बाधा नपर्ने बताउनुभयो । भाडा तिरेर बसिसकेपछि रकम तिरुञ्जेल आफ्नै हुने भएकाले डेरामा श्राद्ध गर्न धर्मशास्त्रीय ग्रन्थले भने अनुसार कुनै बाधा नरहेको उहाँले सुनाउनुभयो ।
डेरामा ठाउँ अभाव भएर तीर्थमा गएर तिथिको श्राद्ध गर्नुपर्दा पहिले तीर्थ श्राद्ध गरेरमात्र तिथि वा सोह्र श्राद्धको तिथिको श्राद्ध गर्नुपर्ने शास्त्रीय नियम रहेको जानकारी पनि धर्मशास्त्रविद् नेपालले दिनुभयो । तीर्थ श्राद्ध र तिथिको वा सोह्र श्राद्ध एकै दिन गर्दा तीर्थ श्राद्ध आफ्ना पुरेतबाट नभई अलग्गैबाट गर्नुपर्ने पनि उहाँले बताउनुभयो । दुवै श्राद्ध एकै पुरेतबाट गराएर सिदा र दक्षिणा दान एकै जना ब्राह्मणलाई गराउन नहुने शास्त्रीय वचन रहेको छ ।
—

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.