भोलिदेखि नेपाल स्टारको तेस्रो राउण्ड

काठमाडौं– नेपाली मौलिक सिङ्गिङ रियालिटी शो वाइवाइ नेपाल स्टारको तेस्रो राउण्डको प्रसारण भोलि शनिबारबाट सुरु हुने भएको छ ।

दोस्रो राउण्ड षडजबाट छानिएका ४८ प्रतिस्पर्धीले यो तेस्रो राउण्ड ऋषभमा प्रवेश पाएका छन् । यही राउण्डबाटै प्रतिस्पर्धीहरुले लाइभ म्युजिकमा गाउँदै आफ्नो गायन क्षमता प्रदर्शन गर्नुपर्ने छ । जहाँबाट छानिंदै अगाडि बढ्नका लागि प्रतिस्पर्धीहरुलाई यहाँ पनि निर्णायकहरुको मार्ककै आवश्यकता पर्नेछ । तुलनात्मक रुपमा कम मार्क प्राप्त गर्ने प्रतिस्पर्धीहरुले भने यही राउण्डबाट बिदा लिएर घर फर्किनेछन् ।

यस अघि डिजिटल राउण्डका रुपमा प्रसारित षडज राउण्डमा देशका सातै प्रदेशमा सम्पन्न अडिसनबाट छानिएका १२० प्रतिस्पर्धीमध्ये ११७ जना सहभागी थिए । तिनै ११७ मध्येबाट छानिएका ४८ प्रतिस्पर्धीको बीच हुने गायन क्षमताको प्रतिस्पर्धा यो राउण्डमा हेर्न सकिनेछ ।

वाइवाइ नेपाल स्टारको प्रसारण सुरु भएसँगै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड ( १९ को विषम परिस्थितिमा सिङ्गो कार्यक्रम निर्माण टोली, निर्णायक तथा प्रतिस्पर्धीहरुलाई एकजुट गराएर कार्यक्रम छायाङ्कन गर्न सम्भव नरहेकाले यो कार्यकमलाई पटक पटक लामो समयसम्म छायाङ्कन रोक्दै अगाडि बढाउनुपरेको थियो ।

वाइवाइ नेपाल स्टारका निर्देशक रवि श्रेष्ठका अनुसार कार्यक्रम उत्पादक टीमको स्वास्थ्यको समेत ख्याल गर्दै सामाजिक दूरी र सबैको स्वास्थ्य सुरक्षाका सबै उपाय उच्चस्तरमा अपनाउँदै अब यही गतिमा हरेक हप्ता नयाँ एपिसोड प्रस्तुत गर्ने तयारी छ । कार्यक्रमका निर्णायक छन् रामकृष्ण ढकाल, अञ्जु पन्त र आलोकश्री । नेपाल टेलिभिजनको प्रस्तुतिमा की इन्टरटेन्मेन्टको निर्माण रहेको यो कार्यक्रमको प्रसारण नेपाल टेलिभिजनमा हेर्न सकिनेछ भने नेपाल टेलिभिजनकै वेबसाइट, युट्युबमोबाइल एपबाट पनि हेर्न सकिन्छ ।

यो कार्यक्रमका विजेता हुने प्रथमले ३५ लाख, दोस्रो, तेस्रो र चौथोले पाँच–पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

उत्कृष्ट ४८ मा परेका प्रतिस्पर्धीहरुमध्ये को जानेछन् अगाडि र कसको यात्रा यहीं टुङ्गिनेछ त्यो थाहा पाउनका लागि भने हेर्नै पर्ने हुन्छ– यही शनिबार राती ८ः५० मा प्रसारण हुने वाइवाइ नेपाल स्टारको नयाँ एपिसोड ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.