लकडाउनमा कोप्रे झरनामा चहलपहल (फोटो फिचर)

म्याग्दी– विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण लकडाउन गरेपछि सर्वसाधारणहरु घरभित्रै बस्नुपर्ने बाध्यता सिर्जना भयो । नेपालमा पनि गएको चैत ११ गतेदेखि जारी लकडाउनले लामो समयसम्म घरभित्रै बस्दा सर्वसाधारण आजित बनेका थिए । पर्यटकीय सिजनमा गर्नुपरेको लकडाउनका कारण घुम्न नपाएका सर्वधारण यतिबेला पर्यटकीय गन्तव्यको खोजीमा छन् ।

पछिल्लो समय लकडाउन केही खुकुलो भएसँगै सर्वसाधारणहरु हिँडडुल र घुमफिर गर्न चाहन्छन् । यसैक्रममा हिमाली जिल्ला म्याग्दीमा लकडाउनको समयमा चर्चामा आएको कोप्रे झरनामा पछिल्लोपटक दैनिकजसो आन्तरिक पर्यटकहरुको भीड लाग्न थालेको छ । म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा पर्ने नयाँ पर्यटकीय गन्तव्यका रुपमा चिनिएको कोप्रे झरना खासगरी आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बनेको छ । पर्यटकीय सम्भावना बोकेको यस झरनामा पर्यटकको आकर्षण बढ्दै गएको हो ।

भकिम्लीको दुधेखोला नजिकै अवस्थित कोप्रे झरनामा पछिल्लोपटक दिनहुँ पर्यटकहरु पुगेर रमाउने गरेका छन् । स्थानीयले ‘कोप्रे छहरा’ भनेर चिन्ने कोप्रे झरनामा शनिबार र विदाको दिनमा त झन् आन्तरिक पर्यटकहरुको घुइँचो नै लाग्छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि नजिकै १ घण्टाको दुरीमा अवस्थित झरनामा हिँजोआज पर्यटकको चहलपहल बढ्दै गएको स्थानीयवासिन्दाले बताएका छन् । बेनी–बगरफाँट–भकिम्ली सडकअन्तर्गत पर्ने झरनामा स–साना बालबालिकादेखि अधबैंसे उमेर समूहका मानिसहरु पुगेर रमाउँछन् । कोप्रे झरना भ्रमण गर्न जाने पर्यटकले यसलाई लकडाउनको समयमा भेटिएको झरना भनेका छन् । चर्को गर्मी छल्न त्यहाँ पुगेका पर्यटकहरु झरनामा सितलताको मज्जासहित पौडी खेल्दै मोबाइलमा सेल्फी र भिडियो खिच्ने अनि सामाजिक सञ्जालमा पोष्ट्याउने गर्दछन् ।

लकडाउनको समयमा घरभित्रै बस्न बाध्य तथा व्यस्त दैनिकीबाट फ्रेस हुनका लागि एकैछिन भए पनि सर्वसाधारण र पर्यटकहरु झरनामा पुगेर रमाउँछन् । कोप्रे छहरामा पहिल्यैदेखि नै भकिम्ली, ज्यामरुककोट, दुधेखोला, बगरफाँट र बेनीबजार आसपासका क्षेत्रबाट मानिसहरु घुम्न जाने गरेको बेनी नगरपालिका–२, ज्यामरुककोटका वडा अध्यक्ष हिराबहादुर थापाले जानकारी दिनुभयो । विगतदेखि नै मानिसको चहलपहल हुने यस झरनामा अहिले कोरोना भाइरसका कारण जारी लकडाउनको बीचमा घुम्नेहरुको संख्या बढेको छ । बेनीबजारबाट कोप्रे झरनाको भ्रमणमा निस्कनुभएकी आन्तरिक पर्यटक सितल कार्कीले झरनामा पुगेर रमाउन पाउँदा आफूले रमाइलो अनुभूति गर्न पाएको अनुभव सुनाउनुभयो ।

कोप्रे झरना हिउँदमा केही सानो भए पनि वर्षात्को समयमा निकै ठूलो हुन्छ । कोप्रे झरनालाई त्यहाँ भ्रमण गर्न जाने कतिपय पर्यटकहरुले ‘वर्षे झरना’को समेत नामाकरण गरिदिएका छन् । भीर तथा पहराको आड लिएर लडीबुडी खेल्दै खस्ने झरना हेर्दा निकै सुन्दर, मनमोहक र आकर्षक लाग्छ । घामसँगै देखिएको इन्द्रेणी आउने गरी फोटो तथा भिडियो खिच्न पाइने हुँदा झरनाले पर्यटकलाई लोभ्याइरहन्छ । झरनामा गर्मी छल्न पुग्नुभएका युवा सन्दीप खत्रीले सदरमुकामको नजिकमा भएर पनि ओझेलमा परेको झरना कोभिड–१९ का कारण चर्चामा आएको बताउनुभयो ।

अहिले कोप्रे झरनामा म्याग्दी सदरमुकाम बेनीबजारसहित ज्यामरुककोट, भकिम्ली लगायतका क्षेत्रबाट प्रायः पर्यटकहरु जाने गरेका छन् । झरनामा गर्मी छल्न तथा त्यहाँ पुगेर मोबाइलमा सेल्फी खिचेर रमाउन पाइने हुँदा खासगरी युवायुवती र केटाकेटीहरु धेरै पुग्छन् । झरनामा आजभोली दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटकको चहलपहल निकै बढेको छ । झरनामा भौतिक पूर्वाधार विकासका लागि वडा कार्यालयबाट आवश्यक पहल थालिने वडा अध्यक्ष थापाको जानकारी दिनुभयो ।

बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले पर्यटकीय सम्भावना बोकेको कोप्रे झरनाको थप प्रचारप्रसारसँगै विकास गर्न वडा कार्यालय र नगरपालिकाबाट आवश्यक योजना बनाएर अगाडि बढाइने बताउनुभयो । म्याग्दीमा रहेका झरना, तालतलैया र छहरालगायत पर्यटकीय गन्तव्यका क्षेत्रहरुको विकास गर्नसके वर्षेनी थुप्रै आन्तरिक र बाह्य पर्यटकलाई जिल्ला भित्र्याउन सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.