लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच आवश्यकः मन्त्री बादी

ललितपुर- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यक रहेको बताउनुभएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्नुहुँदै मन्त्री बादीले लैङ्गिक हिंसा अन्त्यका लागि पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न न्याय प्रणालीलाई सहज, छिटो, छरितो र कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभयो ।
“हिंसापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक तथा सामाजिक अवरोध हटाउनु आवश्यक छ, नेपाल जनसाङ्खिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले शारीरिक हिंसा र आठ प्रतिशतले यौन हिंसा भोगेको तथ्याङ्क छ । हिंसा प्रभावितमध्ये ५८ प्रतिशतले कसैसँग सहयोग नमागेको र न्यायका लागि पहल नगरेको तथ्य सार्वजनिक भएको छ, सामाजिक लाञ्छना, प्रतिशोधको डर, कानुनी सहायता अभाव र आर्थिक परनिर्भरता जस्ता पक्ष न्याय प्राप्तिमा बाधक बनेका छन्, त्यसतर्फ ध्यान जान आवश्यक छ ।”, मन्त्री बादीले भन्नुभयो ।
उहाँले लैङ्गिक हिंसाले प्रभावितको शिक्षा, रोजगारी, उत्पादकत्व र आयआर्जनमा प्रत्यक्ष असर पार्नुका साथै स्वास्थ्य उपचार, कानुनी प्रक्रिया र मनोसामाजिक परामर्शमा आर्थिक भार थप्ने बताउनुभयो । सरकारले लैङ्गिक हिंसाविरुद्ध राष्ट्रिय कार्ययोजना तयार गरी पीडितको उद्धार, संरक्षण, पुनःस्थापना, निःशुल्क कानुनी सहायता, सुरक्षित आवास गृह तथा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमार्फत सेवा विस्तार गरिरहेको उहाँले जानकारी दिनुभयो ।
मन्त्री बादीले लैङ्गिक उत्तरदायी बजेटको प्रभावकारी कार्यान्वयन, तीनै तहका सरकारबीच समन्वय र निजी क्षेत्रसहित सबै सरोकारवालाको सहकार्यबाट हिंसामुक्त तथा आर्थिक रूपमा सबल समाज निर्माण हुने यथार्थलाई आत्मसात् गरी अघि बढ्न अनुरोध गर्नुभयो ।
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले लैङ्गिक हिंसा न्यूनीकरण तथा अन्त्यका लागि सम्बद्ध सबै पक्षबीच  सहकार्य गरी सहज पहुँचसहित न्याय सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले हिंसा प्रभावित महिलालाई निःशुल्क कानुनी सहायता, सुरक्षित आवास, मनोसामाजिक परामर्श, पुनःस्थापना र आर्थिक सशक्तीकरणका अवसर उपलब्ध गराउँदै लैङ्गिक उत्तरदायी बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.